बजेट अभावले विकास निर्माणका याेजना सम्पन्न गर्न कठिनः वडा अध्यक्ष खत्री
१४ कार्तिक,काठमाडौं। दार्मा गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत साविकका ढाकाडाम, भल्चौर र दार्माकोट गाविस गरी ३ वटा गाविसलाई समावेश गरी स्थापना भएको हो ।
यस पालिकाको कुल क्षेत्रफल ८१.४६ वर्ग किलो मिटरमा फैलिएको हाे । यस गाउँपालिकाको पूर्वमा पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका र सल्यान जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ४ पश्चिममा सल्यान जिल्लाको कुमाख गाउँपालिका, उत्तरमा पश्चिम रुकुम र दक्षिणमा सल्यान जिल्लाको बागचौर नगरपालिका पर्दछ । दार्मा गाउँपालिका विश्व मानचित्रमा २८° ३०ं देखि २८°५०ं उत्तरी आक्षांश र ८२° ३३’ देखि ८२° ५५ंं पूर्वी देशान्तरमा रहेको छ भने समुद्री सतह देखि १०९७ देखि २४८७ मिटरसम्मको उचाइमा अवस्थित छ ।
सल्यान जिल्लाको दार्मा गाउँपालिका, पूर्वाधार , मानव संशाधन विकास जस्ता हिसाबले पछाडी परेको गाउँपालिका भएतापनि यहाँको प्राकृतिक श्रोत साधनको हिसाबले अत्यन्तै विकासको सम्भावना बाेकेको गाउँपालिका हुनुको साथै उत्प्रेरित समुदायकोे हिसावले गर्दा दरिलो र दिगो विकासको श्रोत मान्न सकिन्छ ।
२०६८ सालको जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या १९ हजार ९ सय ६६रहेको छ । जस मध्यमा महिलाको संख्या १० हजार २ सय २० (५१.१८प्रतिशत) र पुरुषको संख्या ९ हजार ७ सय ४६ (४८.८१ प्रतिशत) रहेको छ। कुल ३ हजार ४ सय ६० घरधुरी रहेका छन ।
यस गाउँपालिकामा बहुभाषा बहुजातीको बसोबास रहेको हुँदा जातिगत र धार्मिक विविधता रहेको पाइन्छ । २०६८ को जन गणनालाई आधार मान्दा यस गाउँपालिकामा पहिलोमा क्षेत्री, दोस्रोमा ब्राहमण र तेस्रोमा दलित तथा जनजातीको बसोबास रहेको पाइन्छ । औषत आम्दानीको हिसावले सबै भन्दा बढी कृषि व्यवसायले ओगटेको छ ।
दार्मा गाउँपालिका-३ का वडा अध्यक्ष पाेखर बहादुर खत्रीले ठूला गाैरवका याेजनाहरूकाे काम भइरहेकाे बताउनुभएकाे छ। वडा खबरसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । निर्माणाधिन २ वटा पक्की सडक पुल मध्ये एउटाकाे निर्माण कार्य सम्पन्न भएकाे पनि उहाँले बताउनुभयाे ।
यस वडामा रहेका कुल ३ वटा सामुदायिक विद्यालयहरूकाे शैक्षिक गुणस्तर सुधार उन्मुख रहेकाे बताउनुभएकाे छ। विद्यार्थीकाे संख्या न्यून रहेकाे बताउँदै शिक्षक दरबन्दीकाे पनि अभाव रहेकाे उहाँले बताउनुभयाे । विद्यालय मासिक रूपमा अन्तरक्रिया कार्यक्रम पनि भइरहेकाे उहाँकाे भनाइ छ।
स्वच्छ खानेपानी एक घर एक धाराकाे अभियानकाे काम भइरहेकाे पनि उहाँले बताउनुभएकाे छ। साथै ठूला सिंचाइ याेजनाका काम पनि भइरहेकाे उहाँकाे भनाइ छ। यस वडालाई पूर्ण रूपमा विद्युतिकरण गर्ने तयारी भइरहेकाे उहाँले बताउनुभएकाे हाे । कृषिकाे सन्दर्भमा साेही गाउँपालिकामा रहेका ६ वटा वडा मध्ये ३ वटामा दूध र ३ वटामा तरकारी उत्पादन गर्ने पकेट क्षेत्र बनाउने निर्णय गरिएकाे पनि उहाँले जानकारी गराउनुभयाे ।
कृषकलाई अनुदान दिने र पशु बीमा पनि गरिएकाे उहाँकाे भनाइ छ। बजेट अभाव भएका कारण अधिकांश विकास निर्माणका याेजना सम्पन्न हुन नसक्ने उहाँकाे तर्क छ । जसका कारण साेही याेजनाहरूलाई सम्पन्न गर्नका लागि संघीय र प्रदेश सरकारकाे सहयाेगकाे आवश्यकता रहेकाे उहाँकाे भनाइ छ।
त्यस्तै, वर्षाका कारण बिग्रिएका स्थानमा सडककाे मर्मत सम्भारकाे काम भइरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे । वर्षाकाे समयमा सडकमा सवारी संचालन गर्न कठिनाइ हुने गरेकाे उहाँले बताउनुभएकाे छ। सडकमा बाह्रै महिना सवारी साधन संचालन भइरहेकाे पनि उहाँले बताउनुभयाे।त्यस्तै, युवा लक्षित कार्यक्रमहरू पनि संचालनमा रहेकाे उहाँले बताउनुभयाे ।
पर्यटनकाे सम्भावना रहेकाे बताउँदै उहाँले वडामा रहेका गुफा र मठ-मन्दिरहरूकाे संरक्षण-व्यवस्थापन गर्दै पर्यटकीय क्षेत्र बनाउने याेजना भइरहेकाे बताउनुभएकाे हाे । साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे । २४ सैं घण्टा जनताकाेबीचमा रहेर काम गर्ने बताउँदै उहाँले जनतालाई सहज र सरल रूपमा सेवा दिने प्रतिवद्धता समेत गर्नुभएकाे छ।
यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभयाे। नमूना वडा बनाउनका लागि निरन्तर रूपमा लागिरहेकाे उहाँकाे तर्क छ। साथै जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँले बताउनुभयाे। साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ३ लाई पालिकाले कुल ५६ कराेड ४८ लाख भन्दा बढी बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे।
अन्त्यमा निर्वाचनकाे समयमा जनताले गरेका मागलाई ५ वर्षभित्रमा पूरा गर्ने लक्ष्यका साथ अघि बढिरहेकाे अध्यक्ष खत्रीकाे दावी छ।







