मिथिला माध्यमिकी परिक्रमा
८ फागुन,महोत्तरी । नाङ्गा खुट्टा, टाउकामा खाजासामल र फेरफार लुगाका मोटरी (पोका) बोकेर यत्रामा रहेका सबै जय सीयाराम सङ्कीर्तनमा मस्त । मधेश प्रदेशको प्राचीन मिथिलाक्षेत्रमा महाकुम्भ भनिने १५ दिने मिथिला माध्यमिकी यात्राको लस्करमा देखिएकोे दृश्य हो यो ।
फागुन औंशीका दिन सुरु भएर फागुन शुक्लपक्षभर मिथिलाक्षेत्रका विभिन्न तीर्थस्थल घुम्दै पूर्णिमाका दिन जनकपुरधाम पुगेर सम्पन्न गरिने यो महाकुम्भ आज बिहान धनुषाको मिथिलाविहारी नगरपालिका–८ स्थित मिथिलाविहारी (श्रीराम, अवधविहारी) को मन्दिरबाट मिथिलाविहारीको प्रतिमा राखिएको डोलासहित सुरु भएको छ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज यहाँ आयोजित धार्मिक कार्यक्रममा मिथिलाविहारीको डोला (डोली) उठाएर साधुसन्तका काँधमा दिँदै महाकुम्भ यात्रा शुभारम्भ गर्नुभएको हो । मिथिलामा यो यात्रासँग जोडेर ‘माथमें मोटरी जय सीयाराम’ प्रचलित छ । ‘माथमें मोटरी जय सीयाराम’ अर्थात् शिर (टाउको) मा खाजासामल र फेरफार लुगाको पोका र मुखमा सीयाराम नाम सङ्कीर्तन ।
ठेराकचुरीबाट अघि बढेको यो यात्रामा जनकपुरस्थित अग्निकुण्ड मठमा डोला थपिएको छ । श्रीराम र सीताको जोडीका डोली अघि लगाइँदै जनकपुरधामस्थित श्रीराम मन्दिर, जानकी मन्दिर, दुलहादुलही मन्दिर र धार्मिक तलाउमा यात्रा गरिन्छ । यात्राको पहिलो रात्रिबास आज धनुषाको हनुमानगढीमा हुनेछ ।
मिथिलामा १५ दिन यो परिक्रमामा सरिक भएमा पारिवारिक कल्याणसँगै मोक्ष प्राप्त हुने विश्वास गरिन्छ । “यात्रा सुरु गरियो, अब १५ दिन सांसारिक दुःखसुखबाट टाढा रही परमार्थ चिन्तनमा लागिन्छ”, यात्रामा सहभागी महोत्तरीको भङ्गाहा–४ रामनगरका ६५ वर्षीय रामभजन दास भन्नुहुन्छ ।
यात्रामा सहभागी हुदा आनन्द महसुस हुने उहाँको भनाइ छ । मिथिलामा यो यात्रामा सहभागीको पदचापले उडाएको धुलो परैबाट देखिन्छ । यात्रामा सम्लग्न व्यक्ति जयसियाराम सङ्कीर्तनमा मस्त देखिन्छन् ।
बाटो नजिकैका बस्तीका सर्वसाधारणले श्रीराम सीताको डोली नजिक आएपछि दर्शन र पूजाआराधना गर्दछन् । यात्रीले हिँड्दा उडाएको धुलोमात्र शरीरमा परे मन निर्मल हुने मैथिल (मिथिलाका बासिन्दा) को जनविश्वास छ ।
फागुन कृष्णपक्षको अन्त्यसँगै जोडिएर सुरु हुने मिथिला माध्यमिकी परिक्रमा मैथिल परम्परामा महान सांस्कृतिक पर्वका रुपमा लिइन्छ । परिक्रमाको समयमा यात्रामार्गका बस्तीका सर्वसाधारणले यात्रीलाई ‘जल’ मात्रले सेवा गर्न सके पनि पूण्य मिल्ने मैथिल जनविश्वास छ । श्रीराम जानकीका डोला अघि लगाएर गरिने यो यात्रालाई साधुसन्तले ‘अलौकिक’ भन्ने गरेका छन् ।
“मन, चित्त श्रीराम र जानकीमा केन्द्रित छ, सबै सीताराम नाम सङ्कीर्तनमा मग्न छन्, न सांसारिक जीवनका कुनै रोगद्वेष यहाँ देखिन्छ, न कुनै आग्रह”, श्री लक्ष्मीनारायण मठ मटिहानीका साधु रवीन्द्र दास वैष्णव भन्नुहुन्छ, “त्यसैले यसलाई अलौकिक भनिएको हो ।” यात्राका क्रममा बस्ती र विश्रामस्थलका सर्वसाधारण यात्रीको सेवा गर्न पाउँदा खुसी हुन्छन् । परिक्रमा तालिकाअनुसार गरिने भएकाले सर्वसाधारण त्यस दिन डोला दर्शन गर्न तथा यात्रीको सेवामा लाग्दछन् ।
महोत्तरी, धनुषा र छिमेकी मित्रराष्ट्र भारतको मधुवनी जिल्लासहित एक सय ३३ किलोमिटर वृतभित्र १५ ठाउँमा रात्रिवास गरेर रामसीताका भजन गाउँदै मिथिला माध्यमिकी परिक्रमा सम्पन्न गरिने परम्परा छ । परिक्रमाको यो क्षेत्रलाई वृहत्तर जनकपुर क्षेत्र भनिन्छ । एक सय ३३ किलोमिटर वृतमा परिक्रमा गरिने यात्रामा २६ किमी दूरी भारतमा र बाँकी नेपालका महोत्तरी र धनुषा जिल्लामा पर्दछन् । विसं २०७७ माघ ३ गते मधेश प्रदेशले प्रदेशको राजधानी जनकपुरधाम तोकेको थियो । यसले माध्यमिकी परिक्रमाको महत्व उजागर गरेको मिथिलाक्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ ।
परिक्रमामा नेपाल र भारतका विभिन्न प्रान्तबाट साधुसन्त तथा सर्वसाधारण सहभागी छन् । उमेर पाको हुँदै गएपछि धार्मिक चित्तवृति बढ्दै जाने हुनाले मोक्षको कामनाका साथ यात्रामा सहभागी भएको मिथिला माहात्म्यका नेपाली भावानुवादकर्ता प्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।
अवधकिशोर (श्रीराम) र किशोरीजी (सीताजी) का प्रतिमा राखिएका डोला अघि लगाएर १५ दिन मिथिला क्षेत्रभित्रका तीर्थस्थलको दर्शन गर्दै नाङ्गा खुट्टाले पैदल हिँडेर यो यात्रा तय गरिन्छ । फागुन पूर्णिमाका दिन यो यात्रा सम्पन्न गरेसँगै होलिका दहनको धुरा उडाइ (होलिका राक्षसीको आकृति डढाएर त्यसको खरानी उडाइने चलन) त्यसको भोलिपल्ट फागु अर्थात् होली पर्व मनाउने चलन छ ।
मिथिला माध्यमिकी परिक्रमामा महोत्तरीका मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवनसहित पाँचवटा रात्रि विश्रामस्थल छन् । यी क्रमशः चौँथो, पाँचौँ, छैठौँ, सातौंँ र आठौंँ दिनका विश्रामस्थल हुन् । त्यसैगरी पहिलो दिनको रात्रि विश्राम धनुषाको हनुमानगढीमा बिताउने यात्री घुम्दै नवौँ दिनको विश्रामका लागि फेरि धनुषाकै पर्वता पुग्नेछन् । त्यसपछि धनुषाधाम, सतोषर र औरहीमा क्रमशः १०औँ, ११औँं र १२ औँ दिनको रात्रि विश्रामपछि डोला फेरि भारत प्रवेश गर्नेछ ।
यात्री १३ औँं र १४ धौँ दिनको रात्रि विश्राम भारतको मधुवनी जिल्लाको करुणा र बिसौलमा गरी अन्तिम रात्रिबासका लागि जनकपुरधामस्थित रङ्गभूमि मैदान पुग्ने चलन छ । यसअघि पहिलो दिनको रात्रिबास हनुमानगढीमा गरेका यात्रीले दोस्रो र तेस्रो दिनको रात्रिबास भारतको मधुवनी जिल्लाकै कल्याणेश्वर (कलनास्थान) र फुलहर (गिरिजास्थान) मा गरिसकेका हुन्छन् । बिसौलबाट १५औंँ (अन्तिम दिन) दिनको यात्रा थालेपछि दोस्रो दिन रात्रिबास गरेका कल्याणेश्वरमा भगवान् शङ्कर श्रीकल्याणेश्वरको यात्रा गरेपछि एक फन्को पूरा हुन्छ ।
पन्ध्रौँँं दिन जनकपुरधाम पुगेपछि रङ्गभूमिमा रात्रिबास गरेर १६औँ दिन बिहान जनकपुरधामको अन्तग्रिह परिक्रमा (यसलाई पञ्चकोसी परिक्रमा पनि भनिन्छ) गरेपछि माध्यमिकी परिक्रमा पूर्ण हुने जनविश्वास छ । व्यवहारिक कामले माध्यमिकी परिक्रमा गर्न नभ्याएका पनि अन्तिम दिनको पञ्चकोसी परिक्रमामा सहभागी हुन्छन् ।
हजारौं साधुसन्त सहभागी हुने महाकूम्भमा यात्रीको बासस्थान, प्राथमिक उपचार, भोजन र आपतकालीन सेवाका लागि रात्री विश्रामस्थल रहेका ठाउँमा मठमन्दिर व्यवस्थापन, सामाजिक सङ्घ संस्था र स्थानीयतहले संस्थागत प्रबन्ध गर्दैआएका छन् । यात्रीका लागि मनकारी व्यक्तिहरुले भोजन, पानी र अन्य आवश्यक कुराको स्वेच्छिक प्रबन्ध गर्दछन् । माध्यमिकी परिक्रमाको संयोजन पछिल्ला दुई दशकयता बिभिन्न मठमन्दिर व्यवस्थापनको समन्वयमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले गर्दै आएको छ ।
मिथिलाको हिन्दू परम्परामा भगवान् शिव र विष्णु लक्ष्मीका अवतार मानिने श्रीराम र सीता समानरुपले पूज्य छन् । महाशिवरात्री पर्वमा रामसीताका मन्दिरमा माङ्गलिक उत्सव मनाइन्छ । त्यसैगरी त्रेता युगमा विवाहपश्चात् राम जानकीले विहार गर्दै मिथिला परिक्रमा गरेका सम्झनामा आयोजना हुँदै आएको मिथिला माध्यमिकी परिक्रमाका चार सुरमा प्रसिद्ध शिवालय बनाइएको छ । पूर्वमा कल्याणेश्वर, पश्चिममा जलेश्वरनाथ , उत्तरमा क्षीरेश्वरनाथ र दक्षिणमा सतोखरनाथ यस क्रममा प्रदक्षिणा गरिने शिवालय हुन् ।
श्री शिवले आफ्ना इष्टदेवमा भगवान् रामको र श्रीरामले श्री शिवको आराधना गरेका प्रसङ्ग रामायण र शिवपुराणमा भेटिनाले हिन्दू परम्परामा यी दुवै देवको समान पूजाआराधना परम्परा चलेको मटिहानीस्थित लक्ष्मीनारायण मठका सन्त रविन्द्र दास वैष्णव बताउनुहुन्छ ।
मिथिलामा माध्यमिकी परिक्रमा आपसी द्वेष हटाउन र मानवीय सेवामा लाग्न उत्प्रेरित गर्ने पर्वका रुपमा मानिन्छ ।