Share Icon

काठमाडाैं । १२ अर्ब रुपैयाँमा निर्माण सम्पन्न हुनेगरी स्टीमेट गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागत बढाएर २४ अर्ब रुपैयाँ पुर्याएको बिषयमा अख्तियारले छानबिन गरेको छ ।

महानिर्देशक प्रदिप अधिकारीले १२ अर्बबाट लागत बढाएर २४ अर्ब पुर्याएका हुन् । जुनसुकै पार्टीका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई प्रभावमा पार्न सफल हुँदैआएका महानिर्देशक अधिकारीले सबैतिर सेटिङ गरी पोखरा विमानस्थलको लागत १२ अर्ब बढाएको दर्जन उजुरी अख्तियारमा परेका थिए ।

चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ २ प्रतिशत ब्याजमा र २ अर्ब अनुदान गरी २४ अर्ब लागतमा निर्माण भएको पोखरा विमानस्थलको लागत अनुमान अस्वभाविक रुपमा बृद्धि गर्दा ठूलो आर्थिक चलखेल गरिएको विषयलाई अख्तियारले गम्भीररुपमा लिएको छ भन्ने संकेत आज कागजात नियन्त्रणमा लिएपछि पुष्टि भएको छ ।

आयोजना प्रमुख महानिर्देशक अधिकारीले पोखरा विमानस्थलको ठेक्का सेटिङमा चिनियाँ कम्पनी सीएएमसी इन्जीनीयरीङ कम्पनीलाई दिएका थिए । सीएएमसी इन्जीनीयरीङ कम्पनीसँग नेपाली ठेकेदार कम्पनी क्षमादेवी कन्ष्ट्रक्सनलाई जेभीमा राख्ने चाँजोपाँजो पनि महानिर्देशक अधिकारीले नै मिलाएका थिए । महानिर्देशक अधिकारीको सेटिङमा क्षमादेवी कन्ष्ट्रक्सनलाई जेभी राखिएको थियो ।

सूचना प्रविधि क्षेत्रका माफिया नवीन बस्नेतले क्षमादेवी कन्ष्ट्रक्सनको लाइसेन्स प्रयोग गरी नागरिक उड्डयन प्राधिकरणका प्रायः सबै ठेक्का सेटिङमा लिने गरेका थिए । पोखरा विमानस्थलको ठेक्का पनि बस्नेतको क्षमादेवी–सीएएमसीले पाएको थियो । पोखरापछि प्राधिकरणका महानिर्देशक अधिकारीले केही महिनाअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको ४ अर्ब ७० करोडको ठेक्का पनि क्षमादेवीलाई नै दिएका छन् ।

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको प्रमुख हुँदा सेटिङमा अरबौंको ठेक्का दिएको र प्रतिस्पर्धालाई नै सीमित गरी राज्यलाई अरबौं नोक्सान पार्ने काम गरेका महानिर्देशक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ७ अर्ब ८० करोड रुपैयाँको ठेक्का सेटिङमा चाइनीज कम्पनीलाई दिएका थिए । १ अर्ब २४ करोड कम कबोल गरेको कम्पनीलाई नदिई सेटिङमा ठेक्का दिइएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध र पोखराको ठेक्कामा अरबौं अरब रुपैयाँको ठेक्का सेटिङ गरेका महानिर्देशक अधिकारीले परामर्शदाताको छनोटमा पनि अरबौं अनियमितता गरेका छन् । उनले आफ्नै लगानी भएको कम्पनीलाई परामर्शदाता नियुक्त गरेको आरोप छ ।

महानिर्देशक अधिकारीका आफन्तका नाममा २ वटा परामर्शदाता कम्पनी छन् । अख्तियारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, पोखरा र गौतमबुद्ध विमानस्थलको परामर्शदाताको छानबिन गर्ने हो भने महानिर्देशक अधिकारीकै भएको पुष्टि हुने प्राधिकरणका एक अधिकारी बताउँछन् ।

अख्तियारले निर्माणमात्र होइन, परामर्शदाता छनोटका क्रममा भएको सेटिङका बारेमा पनि छानबिन गर्नुपर्ने नागरिक उड्डयन प्राधिकरणका ती अधिकारी बताउँछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध र पोखरामा भएको ठेक्कामा होस् कि हालै भएको भैरहवाको ४ अर्ब ७० करोडको ठेक्का पनि महानिर्देशक अधिकारीले सेटिङमै दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नागरिक उड्डयन प्राधिकरण अन्तर्गतका तीनवटै विमानस्थल निर्माणको ठेक्कामा भएको अरबौंको घोटालाका बारेमा उजुरी परेका छन् ।

महानिर्देशक अधिकारीले आयोजनाको ठेक्कामार्फत् भ्रष्टाचार गरी आर्जित रकम अमेरिकामा बस्ने उनका नातेदार अर्जुन खड्कामार्फत् अमेरिकामै पलायन गरिसकेका छन् । नेपालमा पनि तिनै खड्काले महानिर्देशक अधिकारीको भ्रष्टाचारको रकम मिटरब्याजमा पनि लगानी गरेको स्रोत बताउँछ । पोखराको माटो भर्नेदेखि बीसौं करोडका ठेक्का पनि तिनै अमेरिकी नागरिक खड्कालाई दिइएको थियो । खड्का प्रदीप अधिकारीलाई दाइ भनेर सम्बोधन गर्दछन् ।

प्रदीप अधिकारीले पोखरा, काठमाडौं र भैरहवा विमानस्थल निर्माणका क्रममा गरेको भ्रष्टाचारको अरबौं रकम अर्जुन खड्कामार्फत् अमेरिकातिर पुर्याइसकेका छन् ।

महानिर्देशक अधिकारीले प्राधिकरणका सबै आयोजना प्रमुख हुँदा गरेका अरबौंका ठेक्का सेटिङको बारेमा सप्रमाण समाचार आइरहेपछि आयोगले छानबिनलाई तीव्रता दिएको हो । गएको कात्तिकमा अख्तियारले पोखरा विमानस्थलको कागजात नियन्त्रणमा लिएपछि प्रदीप अधिकारी जस्ता शक्तिकेन्द्रलाई प्रभावमा पारी जे पनि गर्नसक्छु भन्नेहरु कानुनी कारबाहीको दायरामा आउने आशा गरिएको थियो । साभार नेपाल फेसबाट

Facebook Comments Box

Share Icon