Share Icon

२२ कात्तिक, काठमाडाैँ । बंगलादेशको जीवन पानीले भिजेको छ, राजनीति रगतले। ५० वर्षयता त्यहाँ दुई परिवारबीच संघर्ष छ। विपक्षी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई भ्रष्टाचार आरोप लगाएर शक्तिमा आएकी शेख हसिना जसरी पनि फेरि शक्तिमा आउन चाहन्छिन् ।

सरकारी निवासको स्वागत कक्षमा रेसमी साडीमा ठाँटिएर ठिंग उभिएकी छिन्, शेख हसिना। उनको उपस्थिति मखमली पञ्जाभित्रको फलामे मुठ्ठीको प्रतीक झैं छ। बुढ्यौलीमा पनि उनले जोसिलो शैलीमा राष्ट्रको नेतृत्व गरिरहेकी छन्। एक दशकको अवधिमा ७६ वर्षीय हसिनाको नेतृत्वमा बंगलादेशले निकै फड्को मारेको छ।  जुटको उत्पादनकर्ताबाट एशिया प्रशान्त क्षेत्रको तीव्र आर्थिक वृद्धि हासिल गरिरहेको सूचीमा बंगलादेश आइपुगेको छ।

उनको पहिलो कार्यकाल १९९६ देखि २००१ सम्मको थियो। सन् २००९ देखि हालसम्म निरन्तर सत्तामै रहेकी उनी विश्वकै धेरै शासन गर्ने महिला प्रधानमन्त्री हुन्। बंगलादेशमा पुनरुत्थानवादी इस्लामी तथा राज्य सत्तामा हस्तक्षेप गर्ने सेना दुवैलाई पराजित गरेको श्रेय उनैलाई छ। मार्गरेट थ्याचर र इन्दिरा गान्धीपछि सबैभन्दा धेरै चुनाव जित्ने सूचीमा पनि हसिना छिन्।

आगामी जनवरीमा हुन गइरहेको निर्वाचनमा पनि आफूले नै बाजी मार्नेमा हसिना आत्मविश्वासी देखिन्छिन्। ‘मेरो शक्ति नै मेरा जनता हुन्। जनता मेरै साथमा रहेको कुरामा म ढुक्क छु’, उनले भनिन्।

उनको यो आत्मविश्वासले विगतदेखि हालसम्म १९औं पटक गरिएको हत्या प्रयासको पनि बलियो खण्डन गरेको छ। हालसालै प्रमुख प्रतिपक्षी दल बंगलादेश राष्ट्रिय पार्टीका समर्थकहरुले आन्दोलन मच्चाए। प्रहरी प्रशासनसँग झडप भयो। दर्जनौं सवारी साधनमा आगो झोसियो। झडपमा कैयौं मानिस मारिए, धेरै गिरफ्तारमा परे। प्रतिपक्षी दलले आसन्न निर्वाचन बहिष्कार गर्ने भन्दै आन्दोलन गरेको हो। त्यस दलले सन् २०१४ र २०१८ को निर्वाचनमा पनि यस्तै आन्दोलन गरेको थियो।

प्रमुख प्रतिपक्षी दलको माग एउटै छ- ‘निर्वाचन गराउनका लागि हसिनाले कामचलाउ सरकारलाई जिम्मेवारी दिनुपर्छ।’

हसिना आवद्ध अवामी लिग पार्टीको नेतृत्वमा बंगलादेशले निरंकुश मोड लिइरहेको छ। विगतका दुई निर्वाचनको निष्पक्षतालाई लिएर अमेरिका र युरोपेली युनियनले प्रश्न उठाएका थिए। उनीमाथि फर्जी मतदान गराएर चुनाव जितेको आरोप लागेको थियो। निष्पक्ष निर्वाचनको माग गर्नेमाथि दमन हुँदा चुनावी प्रक्रियाप्रति झन् आशंका उठिरहेको छ।

निर्वाचनमा धाँधली नगर्न माग गर्ने बंगलादेशकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जिया हाल भ्रष्टाचार मुद्दामा नजरबन्दमा छिन्। प्रतिपक्षी दलका कार्यकर्तामाथि मुद्दाको चाङ छ। स्वतन्त्र पत्रकार तथा नागरिक समाजले पनि आफूहरुले प्रतिशोधात्मक उत्पीडन भोगिरहेको गुनासो गरिरहेछन्। आलोचक भन्छन्, ‘जनवरीको निर्वाचनमा हसिनाको सिंहासन सुरक्षित गर्नेछ र उनले तानाशाहको रुपमा शपथ लिने निश्चित छ।’

९३ वटा मुद्दा झेलिरहेका बीएनपीका महासचिव मिर्जा फकहरुल इस्लाम अलमगिर भन्छन्- ‘राज्यमा सबै संयन्त्र सत्तारुढ दलको नियन्त्रणमा छ। हामीले स्वतन्त्र निर्वाचनको माग गर्दा दमन भोग्नुपर्छ। म स्वयंलाई राज्यसत्ताले प्रतिशोध साधेर ९ पटक जेल चलान गरिसकेको छ।

हसिनाको दमनमा सेनाले मात्रै नभएर न्यायिक संयन्त्रले पनि साथ दिएका छन्। हसिनाका आलोचकहरुलाई न्यायालयले पनि तत्कालै सजाय सुनाउने गरेको छ। गत सेप्टेम्बर १५ मा दुई प्रखर मानवअधिकारवादीहरुलाई दुई वर्षको जेल सजाय सुनाए। ती मानवअधिकारवादीहरुले सरकारले मच्चाएको गैरन्यायिक हत्या तथा बेपत्ता पारिएका नागरिकहरूको तथ्यांक संकलन गरिरहेका थिए।

विश्वमा बंगलादेशले माने राख्दछ। यो मुलुक शान्ति सेनामा सबैभन्दा बढी योगदान गर्ने मुलुक हो। अमेरिकी हिन्द प्रशान्त कमाण्डमा यसले नियमित अभ्यास गर्छ। बंगलादेशी प्रवासीले अमेरिका, युरोप र एशियाका विभिन्न क्षेत्रमा राम्रै व्यापार गरिरहेछन्। बंगलादेशले सबैभन्दा बढी सामान निर्यात गर्ने मुलुक अमेरिका हो। बंगलादेशमा सबैभन्दा बढी विदेशी लगानी गर्ने मुलुक पनि अमेरिका नै हो।

युक्रेनमा रुसको हमलाको निन्दा र बंगलादेशमा म्यानमारबाट १० लाख रोहिंगा शरणार्थी भित्र्याएर हसिनाले आफू पश्चिमाका लागि सहयोगी बन्ने संकेत गरिसकेकी छन्। तथापि बंगलादेशी निरंकुशताको  बचावप्रति वासिंगटन चिन्तित छ। त्यसैले उसले अमेरिकामा हालसालै भएको लोकतन्त्र सम्मेलनमा हसिनालाई आमन्त्रण गरेन। र हालै मेमा अमेरिकाले निर्वाचनको स्वच्छतालाई लिएर बंगलादेशी उच्चपदस्थ अधिकारीमाथि भिसा प्रतिबन्ध लगायो। यसप्रति संसदमा प्रतिक्रिया दिंदै हसिनाले भनेकी थिइन्- ‘अमेरिकाले मलाई अपदस्थ गर्न खोजेर लोकतन्त्र नै हटाउन खोजेको छ।’

हसिनाको चौथो कार्यकालप्रति बंगलादेश ध्रुवीकृत छ। पश्चिमाहरु यस मुलुकको नाम आफ्नो टिसर्ट प्यान्टमा प्रकाशित लेबलबाट थाहा पाउँछन्। तर यो मुलुकको अर्को पहिचान पनि छ। बंगलादेश मध्यपूर्वभन्दा धेरै मुस्लिम जनसंख्या भएको मुलुक हो। हिन्दु, बौद्धमार्गी र इसाइ त्यहाँ अल्पसंख्यक हुन्। संविधानले बंगलादेशलाई धर्मनिरपेक्ष मुलुक भन्छ। तर, सन् १९८८ मा सैन्य तानाशाहले त्यस मुलुकलाई मुस्लिम राष्ट्रको रुपमा परिचित गराए। यो कदमसँगै त्यहाँ कट्टरपन्थी मौलाउन थाले।

हसिनाको नेतृत्वमा भएका आर्थिक उपलब्धि निकै नै प्रशंसायोग्य छन्। आफ्ना नागरिकलाई भोकै नराख्नका निम्ति खाद्यान्न आपूर्ति गर्ने मुलुकको कुल गार्हस्थ्य उत्पादन हाल ७१ अर्ब अमेरिकी डलरबाट बढेर ४६० अर्ब अमेरिकी डलर छ। बंगलादेश भारतपछि दक्षिणएशियाकै दोस्रो अर्थतन्त्र भएको मुलुक हो। बंगलादेशको सामाजिक सूचक पनि सुधारिएको छ। त्यहाँ ९८ प्रतिशत छात्राले हाल प्राथमिक शिक्षा लिइरहेका छन्।

प्रविधिमा उत्पादन तथा मर्मतमा पनि बंगलादेश अघि बढिरहेको छ। उसले अन्तर्राष्ट्रिय कम्पनी सामसङलाई आफ्नो मुलुकमा भित्र्याएको छ। आर्थिक तथा सामाजिक सूचकको वृद्धिसँगै मानवअधिकार, लोकतन्त्र र वाक् स्वतन्त्रताको खराब सूचकको सुधार आवश्यक भइसकेको प्राध्यापक मोहम्मद अलि अर्फत बताउँछन्। ‘हामीले मानवअधिकार, लोकतन्त्र र वाक् स्वतन्त्रता सुधारमा पनि ध्यान दिनैपर्छ। यी विषयमा हामी निकै पछिपरेका छौं’, उनले भने।

बंगलादेशमा जलवायु संकट पनि चुलिंदो छ। फरक राष्ट्र हुनुअघि  पूर्वी पाकिस्तानको रुपमा परिचित यो मुलुक गृहयुद्धको कारण बारुद र धुवाँले ढपक्कै हुन्थ्यो। औद्योगीकरणका कारण अहिले यो मुलुक झनै प्रदूषित छ। हिमालको पग्लिंदो गतिका कारण बंगलादेशका नदीबाट वार्षिक ६२४ अर्ब लिटर पानी बहने गर्छ। वर्षातका कारण ८० प्रतिशत भूभाग डुबानमा हुँदा १ अर्ब डलर बराबरको नोक्सान हरेक वर्ष हुने गरेको छ। समुद्री सतह बढ्दा त्यहाँको जनजीवन थप खतरामा छ।

हसिनाले जलवायु संकटसँग जुध्नका लागि विकसित मुलुकले विकासशील राष्ट्रलाई प्रत्येक वर्ष १ खर्ब डलर उपलब्ध गराउनुपर्ने माग गरेकी छिन्। ‘उनीहरुले हामीलाई धेरै प्रतिबद्धता जनाए। जलवायु संकटसँग जुध्न विकसित मुलुकले गरेका प्रतिबद्धता अब कार्यान्वयन हुनैपर्छ। सन् २०२५ सम्मका लागि उनीहरुले वार्षिक १ खर्ब डलर लगानी गर्नैपर्छ’, हसिना भन्छिन्।

बंगलादेशमा एउटा विरोधाभास छ। त्यहाँको जीवन पानीले भिजेको छ भने राजनीति रगतले। ५० वर्षयता त्यहाँ दुई परिवारबीच संघर्ष छ। एकतार्फ पूर्व राष्ट्रपति शेख मुजिब्बर रहमानकी पुत्री हसिना छिन् भने अर्कोतर्फ छिन् खालिदा जिया। जिया बंगलादेशको पूर्व सेना प्रमुख तथा बीएनपी दलका संस्थापक जिउर रहमानकी श्रीमती हुन्। बंगलादेशको मुक्ति संग्राममा आफ्नो वंशले निर्वाह गरेको भूमिकाको वैधता यी दुवै मातृसत्ताले लिएका छन्। उनीहरु एकअर्कालाई दबाएर सत्तामा आउन हरसम्भव यत्न गर्छन्।

हसिनामा विचित्रको प्रतिशोध देखिन्छ। आफ्नो आलोचक उनलाई सह्य हुँदैन। जसले जेसुकैमा कमजोरी देखाओस् आफूले जनताको जीवनस्तर उकास्न महत्वपूर्ण काम गरेको जिकिर हसिना हरबखत गरिरहन्छिन्।

हसिना बीएनपीलाई आतंकवादी दल भन्दै दुत्कार्छिन्। प्रजातान्त्रिक प्रक्रियामा यस दलले कहिल्यै विश्वास नगरेको उनको आरोप छ। बीएनपीले नै ‘आतंकवादी  दस्ता जुन्ता’ निर्माण गरेको उनको आरोप छ। खालिदा जियाले मुलुकमा तानाशाही शासन गरेको उनी बताउँछिन्। बंगलादेशका लागि बीएनपी विष रहेको उनको आरोप छ। बीएनपीकै उग्र समर्थकका कारण सन् २०१८ को निर्वाचनमा ठूलो झडप भएको र मुलुकमा दंगाफसाद भएको उनी बताउँछिन्।

यता, बीएनपीले पनि हसिनाले प्रतिपक्षी दललाई राज्य संयन्त्रको दुरुपयोग गरेर दमन गर्ने गरेको बताएको छ। लोकतान्त्रिक तथा संवैधानिक संस्थाहरुमा हसिनाको हस्तक्षेप हुने उक्त दलको भनाइ छ। ‘बंगलादेशी राजनीतिमा प्राय: सडकमा हिंसा मच्चिन्छ। सत्तामा जो आए पनि यस्ता गतिविधि सामान्य झैं  हुन्छन्’, ह्युमन राइट्स वाच एशियाकी उप–निर्देशक मिनाक्षी गांगुली भन्छिन्।

हसिनामाथि निर्वाचनमा धाँधलीको आरोप सर्वत्र छ। यसपटकको निर्वाचनमा निष्पक्षता सुनिश्चितताका लागि पारदर्शी मतपेटिका राख्ने, मतदाता परिचय पत्र रुजुका साथै मतदाताको बायोमेट्रिक पनि लिने व्यवस्था गर्न लागेको उनले बताइन्। आफ्नो डीएनएमै लोकतन्त्र रहेको उनको जिकिर छ। आफ्नो पिताको हत्यापछि हसिना र उनको बहिनीले बंगलादेशका लागि पश्चिम जर्मनीका राजदूतको निवासमा शरण लिएका थिए। त्यसपछि विस्तारै उनीहरुले भारतमा राजनीतिक शरण लिए। सन् १९६७ मा उनले भौतिकशास्त्री वाजिद मियासँग विवाह गरिन्। सन् १९८१ मा मात्रै हसिनालाई बंगलादेश प्रवेशको अनुमति दिइएको थियो। त्यसबेला उनलाई अवामी लिगका समर्थकले भव्य स्वागत गरे। उनको प्रवेशसँगै सैन्य शासकविरुद्ध आन्दोलन चर्कियो। ‘हामीले त्यसबेला तानाशाही सैन्य शासनविरुद्ध कडा संघर्ष गर्‍यौं। मतदान र खाद्यान्न हाम्रो अधिकार त्यस संघर्षको नारा थियो’, उनले भनिन्।

तानाशाही सैन्य शासनको अवस्थामा सडक संघर्षको लागि स्थान थियो। चार दशकयता भने परिस्थिति भिन्न छ। प्रतिपक्षी दलले आफूहरुले चुनावी अभियानदेखि सरकारको गलत कदमको विरोध गर्नै नपाउने स्थिति रहेको बताउने गरेको छ। सरकारविरुद्ध बोले गिरफ्तार, मुद्दादेखि हत्यासम्म हुने बीएनपीको आरोप छ।

सन् १९८१ देखि २००८ सम्म बीएनपी र अवामी लिगमध्ये एक सत्तासीन हुन्थे। वर्तमान परिस्थितिमा प्रतिपक्षी दमनमा छ। प्रतिपक्षीको अभियानमा सरकारी धरपकड हुने भएकाले यसपटक पनि हसिनाले बाजी मार्नेमा कसैले आशंका गरेका छैनन्।

हसिनालाई सत्ताको बागडोर गएमा आफूले हाल गरेको झैं दमन आफैंले खेप्नुपर्ने डर रहेको विश्लेषकहरु बताउँछन्। जिल्हुर रहमान भन्छन्, ‘अवामी लिग निकै सन्त्रासमा छ। राज्य संयन्त्रको दुरुपयोग गर्दै विपक्षी माथि दमनको वर्तमान अवस्था आफू विपक्षी भएमा सामना गर्नुपर्ने डर उसमा व्याप्त छ।’

बंगलादेशमा दमनकारी सुरक्षा संयन्त्रको सुरूवात सन् २०१६ को जुलाइ १ को घटनापछि भएको हो। राति ९:४० मा त्यहाँ बम विस्फोटसँगै अन्धाधुन्ध बन्दुक चल्यो। हमला गर्नेहरुले कतिपयलाई बन्धक पनि बनाए। कुरान वाचन गर्न नसक्नेहरुलाई चरम यातना पनि दिए। त्यस घटनामा २२ जना मारिएका थिए। जसमा केही स्थानीय थिए भने इटालियन र जापानी नागरिक पनि थिए। त्यस घटनामा ५० भन्दा बढी घाइते भएका थिए।

आईएस-आईएस प्रेरित आतंकवादी हमलाले बंगलादेशमा घेरा हाल्ने प्रयत्न गरिरहेको छ। एक वर्ष यता हेर्ने हो भने त्यहाँ हिन्दुहरु निशानामा परेका छन्। धर्मनिरपेक्षताको वकालत गर्ने लेखक प्राध्यापकहरुमाथि आक्रमण भइरहेको छ। त्यहाँको वातावरण निकै त्रस्त छ। धेरै रेस्टुरेन्टले विदेशी ग्राहक स्वागतका लागि अस्वीकार गरिरहेछन्।

सन् १९७७ मा बंगलादेशमा इस्लामीकरण सुरुवात भएको थियो। बीएनपीका संस्थापक जिउर रहमानको पालामा इस्लामीकरणले व्यापकता पायो। उनको दललाई पुरातन शक्तिहरुको साथ अझै पनि छ। तर धार्मिक अल्पसंख्यकहरुको साथ भने शेख हसिनाको अवामी लिगलाई छ। हसिनाले विपक्षीलाई तह लगाउनका निम्ति प्रतिआतंकवादको नाममा चरम दमन गरेको विश्लेषक माइकल कल्गम्यान बताउँछन्। ‘विपक्षीलाई दमनका लागि ढाकाले प्रतिआतंकवादको सहारा लिएको छ। यो नीतिमा आधारित रहेर विपक्षीको सभा, समारोह तथा भेलामा चरम दमन हुन्छ’, उनले भने।

हसिनाको दमनमा सेनाले मात्रै नभएर न्यायिक संयन्त्रले पनि साथ दिएका छन्। हसिनाका आलोचकहरुलाई न्यायालयले पनि तत्कालै सजाय सुनाउने गरेको छ। गत सेप्टेम्बर १५ मा दुई प्रखर मानवअधिकारवादीहरुलाई दुई वर्षको जेल सजाय सुनाए। ती मानवअधिकारवादीहरुले सरकारले मच्चाएको गैरन्यायिक हत्या तथा बेपत्ता पारिएका नागरिकहरूको तथ्यांक संकलन गरिरहेका थिए।

गत अगस्टमा विश्वका १७० नेताले हसिनालाई पत्र लेख्दै निरन्तरको न्यायिक उत्पीडन रोक्न माग गरेका थिए। त्यस पत्रमा सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाउने बंगलादेशी मुहम्मद युनुसको पनि हस्ताक्षर थियो। युनुसले बंगलादेशमा गरिबी निवारण तथा लघुऋण घटाउनमा महत्वपूर्ण काम गरेका थिए। तिनै व्यक्तिलाई हसिनाको सरकारले श्रम कानुन उल्लंघन, भ्रष्टाचार, विदेशी मुद्रा अपचलन सहित १७४ वटा मुद्दा दायर गरेको छ। युनुसको उपहास गर्दै हसिना भन्छिन्, ‘युनुस रगत चुस्ने स्वभावका हुन्।’

हसिनामा विचित्रको प्रतिशोध देखिन्छ। आफ्नो आलोचक उनलाई सह्य हुँदैन। जसले जेसुकैमा कमजोरी देखाओस् आफूले जनताको जीवनस्तर उकास्न महत्वपूर्ण काम गरेको जिकिर हसिना हरबखत गरिरहन्छिन्। ‘जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा मैले आफूलाई प्रमाणित गरेकी छु’, उनको जिकिर छ।

मतपेटिकामा विश्वास गर्नेहरुले विजयको प्रबल सम्भावना र पराजयको पनि संकेतको आकलन गर्छन्। तर हसिना विजयको सुनिश्चितता नै देख्छिन्। प्रजातान्त्रिक प्रक्रियाबाट उनलाई कसैले फाल्न नसक्ने जिकिर उनी गर्छिन्।

तथ्य केलाउँदै जाने हो भने परिस्थिति जटिल बनिरहेको छ। बंगलादेशको अर्थतन्त्र अझै पनि कृषि तथा सस्तो गार्मेन्ट निर्यातमा टिकिरहेको छ। त्यसका अलावा प्रत्येक वर्ष १ करोड ४० लाख प्रवासीहरुले त्यहाँ २५ अर्ब डलर बराबरको रेमिट्यान्स पठाउने गर्छन्। जसले यसको अर्थतन्त्रमा निकै महत्वपूर्ण योगदान गरेको छ। प्रवासीको रेमिट्यान्सले अर्थतन्त्रमा पर्ने दबाबलाई कम गर्न सहयोग पुर्‍याएको छ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचार हुने १८० मुलुकको सूचीमा बंगलादेशलाई १४७औं स्थानमा राखेको छ। तथापि हसिनालाई कुनै संकोच छैन। ‘बंगलादेशका हरेक नागरिकको हातमा मोबाइल छ। यो मुलुक सन् २०२६ भित्र अल्पविकसित मुलुकको सूचीबाट बाहिरिनेछ’, उनको दावा छ।

बंगलादेशले म्यानमारबाट लखेटिएका रोहिंग्यालाई कोक्स बजारमा शरण दिएको थियो। घरेलु मानवअधिकारको सूची खराब रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायले दबाब दिइरहेको अवस्थामा त्यसबाट केही समय पन्छिन उसले रोहिंग्यालाई भित्र्याएको कतै छिपेको छैन। तर रोहिंग्याका सवालमा प्रश्न गर्दा हसिना भन्छिन्, ‘म र मेरी बहिनी ६ वर्षसम्म अन्यत्रै शरण लिएर बस्यौं। त्यसैले शरणार्थीको पीडा म राम्रोसँग अनुभव गर्न सक्छु। तर रोहिंग्या अब हाम्रा लागि निकै ठूलो बोझ भने भइरहेको छ।’

 भूगोल र आकारमा बन्धक रहे पनि बंगलादेशले अमेरिका, भारत, चीन र रुससँग सन्तुलनको सम्बन्ध राखेको छ। रुससँग शीतयुद्धदेखि नै उसको पृथक् सम्बन्ध छ। त्यसैले यसलाई दबाबमा राख्दा वासिंगटनले आफ्नो पञ्जा त्यहाँबाट गुमाउने र बंगलादेश चीन र मस्कोसँग थप निकट हुने जोखिम अमेरिकाका लागि छ।

हालको मितिसम्म रुसको युक्रेनमा हमला विरुद्ध राष्ट्रसंघले अघि सार्ने कुनै पनि प्रस्तावमा हसिनाको उपस्थिति छैन। ‘कुनै मुद्दामा हामीले रुस विरुद्ध मतदान गरेका छौं कुनैमा छैनौं। राष्ट्रिय हित अनुसार लिनुपर्ने नीतिमा हामी प्रष्ट छौं’, उनले भनिन्।

हसिना कसैलाई पनि खुलेर विरोध गर्ने पक्षमा छैनन्। तर, ढाकाले रुसका प्रतिबन्धित ६९ जहाजलाई बंगलादेशी बन्दरगाहमा आउनका लागि रोकेकी थिइन्। यो कदम लगत्तै रुसी विदेश मन्त्री सर्गेइ लाभ्रोभ त्यहाँ पुगेर बंगलादेशको आणविक केन्द्रको भ्रमण गरे। अक्टोबर ६ मा रुसले बंगलादेशलाई युरेनियम उपलब्ध गरायो। रुस र युक्रेन युद्धमा को दोषी भनेर सोध्दा उनले भनिन्, ‘यो युद्ध रोकिनैपर्छ। पुटिनले हमला रोक्नुपर्छ र अमेरिकाले युक्रेनलाई हतियार र पैसा दिएर उक्साउने काम बन्द गर्नुपर्छ। दुवै पक्षले युद्ध रोक्नुपर्छ।’

बंगलादेशी कठोर नयाँ साइबर कानुनबारे सोध्दा हसिना निकै रक्षात्मक भइन्। ‘केही कुराको थालनी गर्दा कोही न कोहीले विरोध वा आलोचना गर्नु नियमित प्रक्रिया हो’, उनले भनिन्।

संवादका क्रममा उनले आफ्नो पिताको तस्विर अँगालिरहेकी थिइन्। अन्त्यतिर उनले भनिन्, ‘म मेरो पिताको सपना पूरा गर्न आएकी हुँ।’

तर त्यो सपना लोकतान्त्रिक बंगलादेशको सपना भने थिएन। सन् १९७५ फेब्रुअरी १४ मा हसिनाका पिताको हत्या भएको ६ महिना पुगेको थियो। त्यसबेला मुजिबले सबै राजनीतिक दललाई प्रतिबन्ध लगाउँदै एकदलीय शासन सुरु गरे। जसलाई बक्सल भनिन्थ्यो। पटक-पटक मुलुकलाई संकटग्रस्त देखेका बंगलादेशीले के मुलुकमा लोकतान्त्रिक शासनको अनुभूति गर्न पाउलान् ? यो प्रश्नले बंगलादेशलाई ध्रुवीकृत गरेको छ। आलोचकहरु हसिना बक्सलको दोस्रो भेरियन्ट हुन् भन्छन्। हसिना स्वयं बंगलादेश ग्रे जोनमा रहेको बताउँछिन्। ‘लोकतन्त्रको परिभाषा फरक-फरक छ र मुलुक अनुसार लोकतन्त्र फरक छ’, उनी भन्छिन्।

मतपेटिकामा विश्वास गर्नेहरुले विजयको प्रबल सम्भावना र पराजयको पनि संकेतको आकलन गर्छन्। तर हसिना विजयको सुनिश्चितता नै देख्छिन्। प्रजातान्त्रिक प्रक्रियाबाट उनलाई कसैले फाल्न नसक्ने जिकिर उनी गर्छिन्। ‘मलाई प्रजातान्त्रिक प्रक्रियाबाट फाल्न कसैले सक्दैन’, उनले भनिन्। १९ पटक हत्याको प्रयास हुँदा समेत बाँचेकी हसिना भन्छिन्, ‘मलाई सखाप पार्नु नै मेरो समाप्तिको एकमात्र विकल्प हो र मेरा जनताका लागि म मर्न पनि तयार छु।’

Facebook Comments Box

Share Icon