बुहारी र तीन नाती-नातिनी गुमाएकी सरस्वती : छोरा फर्किएपछि के जवाफ दिनु ?

Share Icon

१९ कात्तिक, रुकुम पश्चिम । शुक्रबार बेलुकी खाना खाएर रुकुम आठबिसकोट नगरपालिका –१४ छेपारेकी ६० वर्षकी सरस्वती जैसी विस्तारामा गइन् । साथमा थिइन्, ६ वर्षकी नातिनी भगवती जैसी । घरको पल्लो कोठामा ३० वर्षकी बुहारी अमृता जैसीसँग एक नातिनी र एक नाती थिए ।

राति ११: ४७ मा बसेको घर एकाएक हल्लियो । ठूलो गर्जनसहित भित्ताहरु भत्किन थाले । ‘निदाएकै बेला घरको भित्ता हामी माथि खस्यो’ उनले भनिन्, ‘सबै चिज एकाएक भयो, हेर्दाहेर्दै म र नातीमाथि भित्ता खसेर बजारियो ।’

सुरुमा त के भएको हो सरस्वतीले भेउ पाउनै सकिनन् । जब सम्हालिइन्, घर पुरै भत्किसकेको थियो । आफूसँगै निदाएकी नातिनी घरको भित्ताले पुरिएकी थिइन् । ‘मेरो टाउको बाहेक सबै शरीर माटोले पुरिएको थियो’ उनले भनिन्, ‘चिच्याएर रुने बाहेक केही गर्न सकिन ।’

भूकम्प गएको आधा घण्टापछि उनी चिच्याएको सुनेर छिमेकीका दुई जना आएर उद्दार गरे ।

आफ्नो उद्धार भएलगतै उनी बुहारी र नाती-नातिनीको खोजीमा लागिन् । ‘जिउँदै छे कि भनेर ढुंगा माटो पन्छाएर हेरेँ’ उनले भनिन्, ‘तर उनीहरुले सास छोडिसकेका रहेछन् ।’

आफैंसँग सुतेकी नातिनीको लास देखेपछि चाहिँ उनलाई आफू पनि मरे झैं लाग्यो । ‘सबै कुरा यति छिटो भयो कि सँगै सुतेकी नातिनीलाई पनि बचाउन सकिन’ उनी भत्किएको घर हेर्दै टोलाई रहन्छिन् ।

बुहारी र नाती-नातिनी त बिते । उनीहरुको काजकिरिया गरिदिने पनि कोही भएनन् । दुईवटै छोरा भारतमै भएकाले दाहसंस्कार गर्न समस्या छ । भूकम्पमा मृत्यु भएकाहरु सरस्वतीको जेठो छोराको परिवार हो ।

शवको पोष्टमार्टमपछि उनका साइला जेठाजु दाहसंस्कारका लागि तयार भए । प्रितु जैशीले नै शनिबार बेलुकी गाउँ छेउमा बग्ने भेरी नदीमा चार जनालाई दागबत्ती दिए । अहिले सरस्वती गाउँकै नवज्योति आधारभूत विद्यालयमा किरिया बसिरहेकी छन् । भन्छिन्, ‘जे हुनु भइगयो, संस्कार त पूरा गर्नु पर्‍यो नि !’

भारतमा भएका छोराहरु फर्किँदैछन् । ‘उसले आफ्नो जहान र छोराछोरी बितेको खबर पाएको छ’ उनले अनलाइनखबरसँग आफ्नो पीडा पोखिन्, ‘बाटोमा छ रे, आउँदै होला ।’

उनलाई चिन्ता छ, ‘छोरा फर्किएपछि के पो जवाफ दिने होला ?’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.