सुरुमा त के भएको हो सरस्वतीले भेउ पाउनै सकिनन् । जब सम्हालिइन्, घर पुरै भत्किसकेको थियो । आफूसँगै निदाएकी नातिनी घरको भित्ताले पुरिएकी थिइन् । ‘मेरो टाउको बाहेक सबै शरीर माटोले पुरिएको थियो’ उनले भनिन्, ‘चिच्याएर रुने बाहेक केही गर्न सकिन ।’
भूकम्प गएको आधा घण्टापछि उनी चिच्याएको सुनेर छिमेकीका दुई जना आएर उद्दार गरे ।
आफैंसँग सुतेकी नातिनीको लास देखेपछि चाहिँ उनलाई आफू पनि मरे झैं लाग्यो । ‘सबै कुरा यति छिटो भयो कि सँगै सुतेकी नातिनीलाई पनि बचाउन सकिन’ उनी भत्किएको घर हेर्दै टोलाई रहन्छिन् ।
बुहारी र नाती-नातिनी त बिते । उनीहरुको काजकिरिया गरिदिने पनि कोही भएनन् । दुईवटै छोरा भारतमै भएकाले दाहसंस्कार गर्न समस्या छ । भूकम्पमा मृत्यु भएकाहरु सरस्वतीको जेठो छोराको परिवार हो ।
शवको पोष्टमार्टमपछि उनका साइला जेठाजु दाहसंस्कारका लागि तयार भए । प्रितु जैशीले नै शनिबार बेलुकी गाउँ छेउमा बग्ने भेरी नदीमा चार जनालाई दागबत्ती दिए । अहिले सरस्वती गाउँकै नवज्योति आधारभूत विद्यालयमा किरिया बसिरहेकी छन् । भन्छिन्, ‘जे हुनु भइगयो, संस्कार त पूरा गर्नु पर्यो नि !’
भारतमा भएका छोराहरु फर्किँदैछन् । ‘उसले आफ्नो जहान र छोराछोरी बितेको खबर पाएको छ’ उनले अनलाइनखबरसँग आफ्नो पीडा पोखिन्, ‘बाटोमा छ रे, आउँदै होला ।’
उनलाई चिन्ता छ, ‘छोरा फर्किएपछि के पो जवाफ दिने होला ?’