Share Icon

१५ असाेज,काठमाडौं ।  नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशनमा सोमबार मतगणना हुने भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा जारी अधिवेशनमा आइतबार राति ९ बजे सम्पन्न मतदानको मतगणना सोमबार बिहान ८ बजेबाट सुरू गर्ने तयारी भएको निर्वाचन कमिटीले जनाएको हाे । कुल ६ सय १६ जना प्रतिनिधिहरु रहेको उक्त अधिवेशनमा ७ जना अनुपस्थित रहेका थिए ।

एमालेको प्रदेश कमिटी अध्यक्षका लागि कालीकोटका मिनबहादुर शाही, सल्यानका गुलाबजंग शाह र कालीकोटका प्रकाश रोकाया चुनावी प्रतिस्पर्धामा रहेका छन् । शाही गोरख बोगटी समूह, शाह यामलाल कँडेल समूह र रोकाया स्वतन्त्र उम्मेदवार हुन् ।

त्यस्तै, प्रदेश कमिटीको उपाध्यक्षमा मुगुका दानिसंह परियार, जुम्लाका टेकराज पछाई र जाजरकोटका लालबहादुर महतरा निर्वाचनमा प्रतिस्पर्धामा छन् । यसैगरी सचिवमा रुद्रबहादुर शाही र ध्रुवबहादुर शाही प्रतिस्पर्धामा छन् ।

एमालेले प्रथम अधिवेशनबाट ५ पदाधिकारीसहित १ सय ३५ सदस्यीय कर्णाली प्रदेश समिति चयन गर्ने भएकाे छ ।

Facebook Comments Box

Share Icon