Share Icon

८ असोज, काठमाडौं । रामेछाप जिल्लाको उत्तरी भू-भागमा अवस्थित उमाकुण्ड गाउँपालिका रामेछाप जिल्लाको प्रचुर सम्भावनाले भरिएको गाउँपालिका हो।

यो गाउँपालिका भौगोलिक हिसाबले रामेछाप जिल्लाकै सबै भन्दा ठूलो गाउँपालिका हो। जम्मा सात वटा वडा रहेको यो गाउँपालिकाको जनसंख्या १७ हजार ६ सय १ रहेको छ । यो गाउँपालिका ४५१.९९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। उमाकुण्ड गाउँपालिकाको केन्द्र हाल वडा नम्बर ४ प्रितीको च्यादलुमा रहेको छ ।

उमाकुण्ड गाउँँपलिकाको पूर्वमा सोलुखुम्बु र ओखलढुङ्गा जिल्ला,पश्चिममा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका उत्तरमा सोलुखुम्बु र दोलखा जिल्लाा र दक्षिणमा ओखलढुङ्गा र रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका पर्दछ। भौगोलिक विकटताको कारण यो गाउँपालिकाको समृद्दिमा निकै ठूलो चुनौती देखिन्छ । विकास निर्माणको क्षेत्रमा निकै पछाडी परेको यो गाउँपालिका स्थानीय सरकार आएसँगै विकास निर्माणले गति लिन थालेको छ ।

उमाकुण्ड गाउँपालिकाको समृद्दिको आधार भनेको कृषि,पर्यटन र जलश्रोत नै हो। उमाकुण्ड गाउँपालिका धार्मिक, ऐतिहासिक र रमणीय स्थलले भरिभराउ गाउँपालिका हो । धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने पाँचपोखरी र जट्टापोखरि लगायतका महत्वपूर्ण ताल तलैया प्रवेश गर्ने मुख्य प्रवेशद्वार उमाकुण्ड गाँउपालिकानै हो। त्यस बाहेक उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक तथा धार्मिक स्थल तामेडाँडाक्षेत्र उमातिर्थ मन्दिर , विभिन्न चण्डी मन्दिर लगायतका धेरै ऐतिहासिक तथा धार्मिक स्थलहरु रहेको छन् ।

गाउँपालिकाको प्रत्येक वडामा धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण स्थलहरु रहेका छन् । जलश्रोत को क्षेत्रमा धनि उमाकुण्ड गाउँपालिकामा धेरै सम्भावना रहेको छ ।हाल पनि उमाकुण्ड गाउँँपालिकामा ५ ओटा भन्दा बढी हाइड्रोपावरहरु निर्माण भैरहेको छ । अन्य हाइड्रोपावर निर्माणको लागि सम्भाव्यता अध्ययन लगायतको समेत काम भैरहेको छ।

कृषि र पशुपालनको लागि अत्यधिक सम्भावना रहेको गाउँपालिकाको वडा नम्बर १ गुम्देल लगायत अन्य क्षेत्रमा लोपोन्मुख चौरी पालन व्यवसाय संचालनमा छ । उमाकुण्ड गाउँँपालिकामा कृषिमा आलु किवी अलैंची र चिया लगायतका नगदे बालीको प्रशस्त खेती भैरहेको छ । उमाकुण्ड गाउँपालिका बहुमूल्य जडिबुटीको भण्डारको रुपमा पनि परिचित गाउँपालिका हो।

उमाकुण्ड गाउँपालिका-६ का वडा अध्यक्ष भरतराज खड्काले कृषि क्षेत्रमा वास्तविक कृषकसम्म पहुँज पुग्न नसकेकाे स्वीकार गर्नुभएकाे छ । अध्यक्ष खड्काले यस वडामा बढी मात्रमा खानेपानी तीव्र गतिमा भएकाे बताउनुभएकाे हाे । विद्युतकाे केन्द्रीय लाइनकाे सबै काम सम्पन्न हुन लागेकाे पनि बताउनुभयाे।

बजेट अभावका कारण विकाश निर्माणका याेजनाहरू सबै पूरा हुनेमा आशंका पैदा भएकाे उहाँकाे भनाइ छ । गत आर्थिक वर्षकाे तुलनामा पालिकाले यस वर्ष २० प्रतिशत कम बजेट यस वडालाई दिएकाे उहाँले बताउनुभयाे । साथै आर्थिक वर्ष २०८०/ ०८१ को बजेट मार्फत वडा नम्बर ६ लाई पालिकाले ४२ लाख रुपैयाँ दिएकाे उहाँले बताउनुभयाे ।

अध्यक्ष खड्काले शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक,पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि सहज रूपमा काम भइरहेकाे उहाँले बताउनुभएकाे हाे । युवालाई स्वदेशमै राेक्न केन्द्र सरकारले नै भूमिका खेल्नु पर्ने उहाँकाे तर्क छ । स्थानीय सरकारले चाहेर पनि युवालाई विदेश जानबाट राेक्न नसक्ने उहाँले बताउनुभयाे । आम्दानीकाे स्राेत नभएका कारण बढीमा मात्रमा युवा विदेशमा गएकाे उहाँकाे भनाइ छ ।

त्यस्तै, दक्ष जनशक्तिकाे अभावका कारण पनि विकाश निर्माण कार्यमा समस्या भएकाे अध्यक्ष खड्काकाे भनाइ थियाे । चालू खर्च बढी र पुँजीगत खर्च कम  भएकाे पनि उहाँले बताउनुभयाे ।

 

Facebook Comments Box

Share Icon