Share Icon

२४ साउन,गोरखा । गोरखा प्रवेश गर्ने मुख्य नाका गोरखा नगरपालिका–१३ देउरालीस्थित मझुवामा प्रथम सहिद लखन थापामगरको सालिक निर्माण गरिएको छ । गोरखा–आँबुखैरेनी सडकखण्डमा पर्ने गोरखा मझुवास्थित गोरखा प्रवेशद्वारसँगै प्रथम सहिद थापामगरको पूर्णकदको सालिक स्थापना गरिएको हो ।

गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरका अनुसार सहिद थापामगरको सम्मान गर्न र गोरखा प्रवेश गर्ने प्रत्येकलाई उहाँको बारेमा जानकारी गराउने उद्देश्यले सालिक स्थापना गरिएको हो । गोरखा नगरपालिकाको रु १० लाख तथा नेपाल मगर सङ्घको रु दुई लाखको लागतमा सालिक निर्माण गरिएको हो ।

सहिद थापामगरले १९११ सालमा पुरानो गोरख गणमा भर्ना भएर १९२७ सालदेखि विद्रोहको थालनी गर्नुभएको इतिहास छ । सहिद थापामगरलाई १९३३ फागुन २ गते सहिद लखन गाउँपालिका–७ वुङ्कोटस्थित काहुले भङ्गारमा तत्कालिन राणा शासकले मृत्युदण्ड दिएका थिए । उहाँलाई २०५६ सालमा नेपाल सरकारले सहिद घोषणा गरेको हो ।

Facebook Comments Box

Share Icon