Share Icon

उमेश दलामी
बाँके । राजनितिक संरक्षण र स्थानीय सरकारको मिलेमतोमा बाँकेमा अवैधरुपमा नदी दोहन गर्ने क्रम रोकिएको छैन । नदीजन्य पदार्थको दोहन अत्यधिक भएपछि यतिबेला राप्तीसोनारी र डुडुवा गाउँपालिकाका विभिन्न ठाउँमा नदीजन्य पदार्थका चाड मात्रै देखिन थालेका छन ।

यसरी अबैद्य रुपमा नदी दोहनमा जनप्रतिनिधी दलिय नेता देखि पुर्व डिआईजी समेतको सक्रियता देखिएको छ । जनप्रतिनिधी र नेतासँगै डनहरुको त विगतदेखि नियमति कर्म नै भएको खोला दोहनमा यतिबेला प्रहरीका पुर्व डिआईजी महेशविक्रम शाहलगायतको टीम पनि नदी दोहनमा सक्रिय देखिएको नागरिक बताउँछन ।

डिआईजी शाहले शक्ति आडमा राप्तीबाट नदी दोहन गरी डुडुवा गाउँपालिका छ मा थुपारेको डुडुवा गाउँपालिकाका एक जनप्रतिनिधीले समेत बताए । उनकाअनुसार उनले यसरी नदी दोहनको सामान थुपारेपनि क्रसर उद्योग भने गाउँपालिका लगायतका ठाउँमा दर्ता गरेको तथा पालिकाको अनुमति लिएको देखिदैन । तर, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयका अधिकारीले यसको अनुगमन गरेका छैनन ।

विगतमा अनुगमन टोली देख्ना साथ तस्करीमा संलग्नहरु भागभाग गर्ने गरे पनि अहिले फेरी नदी दोहन भैरहेको देखिएको छ । तीनै तहका सरकार नदी तटीय क्षेत्रमै क्रसर उद्योग सञ्चालन गर्दा पनि उदासिन देखिएपछि तस्करहरुले हाकाहाकी नदीजन्य वस्तुको चोरी निकासी गर्दै आएका छन् । प्राकृतिक सम्पदामाथि ब्रम्हलुट मच्चाउनेविरुद्ध राज्य संयन्त्र अझ कठोर हुन आवश्यक छ ।

बाँकेको घरेलु कार्यालयमा १६ वटा क्रसर र पाँचवटा वालुवा प्रशोधन उद्योग दर्ता भएका छन् । जसमा अहिलेसम्म तीनवटा मात्रै नविकरण छन् । १३ वटा उद्योग अझै नविकरणवहीन छन् । यी उद्योगले राज्यको नीति विपरित काम गरेका छन् । राज्यलाई राजश्व समेत ठगि गरेको घरेलु कार्यालयको रेकर्डले देखाउँछ ।

वालुवा प्रशोधन उद्योग अधिकाशं नविकरण छैनन् । डुडुवा गाउँपालिकाको जय नेपाल, बाबा स्टोन नरैनापुर र शिवशंकर कोहलपुर नवीकरण छन् । दीपक क्रसर उद्योग नवीकरणको प्रक्रियामा भएको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका एक अधिकृत बताउँछन् ।

बाँकेमा सञ्चालन भएका अधिकाशं क्रसर र बालुवा प्रशोधन उद्योग मापदण्डविपरीत छन् । सरकारी प्रावधानअनुसार जंगल र राष्ट्रिय निकुञ्जको क्षेत्रभन्दा एक किलोमिटर टाढाको दूरीमा क्रसर उद्योग सञ्चालन पाइदैन् । नदी र खोलाबाट ५ सय मिटरको दूरीमा मात्रै क्रसर र बालुवा प्रशोधन उद्योग खोल्न पाइन्छ ।
तर, यहाँ व्यवसायीले मनलाग्दी रूपमा उद्योग सञ्चालन गर्दै आएका छन् । मापदण्डअनुसार बालुवा प्रशोधन उद्योगले गिट्टी र ढुंगाको काम गर्न पाउँदैनन् । तर, प्रशोधन उद्योगले भने ढुंगा र गिट्टीको काम गरिरहेका छन् । जिल्लामा नदीजन्य पदार्थ चोरी निकासी व्यापक भइरहेको छ । बाँके प्रशासनका यस्ता थुप्रै उजुरी परेका छन् ।

Facebook Comments Box

Share Icon