Share Icon

एजेन्सी । पछिल्ला केही वर्षयता चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाका कारण वातावरणमा परेको नकारात्मक प्रभाव अझ स्पष्ट हुँदै गएको छ । वातावरणीय हिसाबमा संवेदनशील क्षेत्रमा बीआरआईमार्फत् निर्माण अघि बढाइएका रेल तथ सडकजस्ता पूर्वाधार परियोजनाले वन्यजन्तु एवम् वासस्थानको लोप, उच्च प्रदूषणजस्ता चुनौती निम्त्याएको छ भने आदिवासीको जीवनशैलीमा पनि नकारात्मक प्रभाव पारेको छ ।

खनिज पदार्थ, कृषि उपज प्राप्त गर्ने उद्देश्यले चिनियाँ कम्पनीले गरेका लगानीका कारण विश्वव्यापी वातावरणमा नै नकारात्मक असर परेको छ ।

दक्षिणपूर्वी एसियामा बीआरआईले वन्यजन्तु संरक्षण, जीवनशैली र दिगो विकासमा चुनौती थपेको छ । सन् २०१८ मा चीनले निर्माण गरेको जलविद्युत परियोजनाका कारण इण्डोनेशियाको सुमात्रामा बाढी निम्त्याएको थियो भने त्यहाँका ओराङ्उटानजस्ता लोपोन्मुख वन्यजन्तुको संरक्षणमा पनि चुनौती थपेको छ ।

तर बीआरआईका माध्यमबाट आर्थिक एवम् राजनीतिक लाभ हुने स्वार्थका कारण सबै मुलुकका सरकार यस्तो चिन्ताप्रति खासै गम्भीर भएको देखिन्न । उदाहरणका लागि कम्बोडियामा चीनको सहयोगमा मिकङ नदीमा निर्माण गरिएको बाँधका कारण माछाको जनसङ्ख्या र प्रवासनमा नकारात्मक असर पारेको छ । यसका कारण सो क्षेत्रमा माछा मारेर जीवन गुजारा गर्ने समुदाय पीडित भएको छ ।

चीनको प्रभाव अफ्रिकामा कङ्गोको नदी क्षेत्र, दक्षिण अमेरिकाको साभाना र दक्षिणपूर्वी एसियाको डेल्टासम्म छ । चिनियाँ कम्पनीहरुले वातावरणीय हिसाबमा यस्ता संवेदनशील क्षेत्रमा पनि पूर्वाधार निर्माणको काम अघि बढाइरहेका छन् ।

चिनियाँ सहयोगमा निर्माण हुने परियोजनामा अपारदर्शीता, भ्रष्टाचार र घोटाला हुने गरेको भन्दै विज्ञहरु चिन्ता व्यक्त गर्छन् । बीआरआई परियोजनामा मिडियाले पनि आलोचनात्मक रिपोर्टिङ नगर्ने भएकाले यस्ता परियोजनाको वास्तविकता बाहिर आउने गरेको छैन ।

त्यस्तै, चिनियाँ लगानीले लगानी गरिएको मुलुकमा रोजगार सिर्जना गर्ने कुनै आधार देखिएको छैन । इथियोपियामा चिनियाँ परियोजनाबारे हालै सार्वजनिक एक रिपोर्टमा गुणस्तरको कुनै मापदण्डको ख्यालै नगरी काम हुने गरेको उल्लेख छ । उक्त परियोजनामा वातावरणीय एवम् सामाजिक प्रभाव मूल्याङ्कन नगरिएको प्रतिवेदनले देखाएको छ ।

विश्व वन्यजन्तु कोष डब्लूडब्लूएफको अर्को प्रतिवेदनले बीआरआई परियोजना कारण २ सय ६५ संकटापन्न प्रजाति, चराका लागि महत्वपूर्ण १ हजार ७ सय ३० क्षेत्रहरु र अन्य जैविक विविधतायुक्त स्थानमा क्षति पु¥याएको जनाइएको छ । त्यस्तै, यस्ता परियोजनाका कारण वनजङ्गल फँडानीको समस्या पनि निम्तिने गरेको उक्त प्रतिवेदनमा उल्लेख छ । चीन आफैँ पनि गैरकानूनी काठ र वन्यजन्तुको सबैभन्दा ठूलो बजार भएकाले डब्लूडब्लूएफको प्रतिवेदनलाई निकै महत्वपूर्ण मानिएको छ ।

यति हुँदा हुँदै पनि बीआरआई परियोजनाका कारण वातावरणमा उत्पन्न जोखिमप्रति अन्तर्राष्ट्रिय समुदाय भने खासै गम्भीर भएको देखिँदैन । बीआरआईका माध्यमबाट वातावरणमा भइरहेको नकारात्मक प्रभावका विषयमा चिन्ता प्रकट गर्नेहरुलाई पश्चिमा मुलुकको दलालको संज्ञा दिइन्छ । अर्कोतर्फ चीनले आफ्नो मुलुकभित्र र विकासशील देशका कतिपय मिडियालाई पनि प्रभावमा राखेको छ । तेस्रो, चीनले बीआरआईका माध्यमबाट अघि बढाइरहेको आफ्नो नवसाम्राज्यवादी गतिविधिलाई ‘विकास र वृद्धि’ को पर्यायका रुपमा प्रचार गर्ने गरेको छ । यसबाट पूर्वाधारको निर्माण विकासका नाममा चीनले ‘ग्लोबल साउथ’ लाई पनि आफ्नो प्रभाव विस्तार गरेको छ ।

त्यस्तै, कतिपय अफ्रिकी मुलुकहरु प्रतिकूल सर्तमा लिइएको चिनियाँ ऋणको पासोमा परेका छन् । घानाजस्ता अफ्रिकी मुलुकहरु चिनियाँ ऋण तिर्न नसके कोका, बक्साइट, तेलजस्ता प्राकृतिक स्रोत गुमाउने अवस्थामा पुगेका छन् । यस कारण पनि धेरै मुलुकहरु यसबारे कुरा दबाउन बाध्य छन् ।

चीनले आफ्नो बीआरआई परियोजनामा हरित एवम् नवीकरणीय ऊर्जाको प्रयोग बढाउने घोषणा गर्दै पनि आएको छ । यद्यपि यस्ता घोषणा व्यवहारमा कार्यान्वयन गर्न भन्दा पनि आलोचकहरुलाई चुप लगाउन गरिएको जस्ता प्रतित हुन्छ । बीआरआईका समर्थकहरु वृक्षरोपण र जिवाष्म ऊर्जा कटौतीजस्ता प्रयासबाट चीनले प्रदूषण कम गर्न कदम चालिरहेको बताउँछन् । तर यस्ता प्रयास पर्याप्त छैनन् ।

चीनले पश्चिमा मुलुकहरुले पनि आफ्नो आर्थिक स्वार्थका लागि वातावरणप्रति उदासिन हुने गरेको आरोप लगाउने गरेको छ । यसबारे वन्यजन्तु संरक्षणविद् प्राध्यापक विलियम लरेन्सको तर्क छ– चिनियाँ परियोजनाको वृहद स्तर र अपारदर्शी संस्थागत अभ्यासका कारण बीआरआईबाट उत्पन्न हुने वातावरणीय चुनौती अझ चिन्ताजनक छ ।

पश्चिमा मुलुकमा जनताले मतदान र चुनावका माध्यमबाट राजनीतिक नेतृत्वलाई सजाय दिन सक्छन् वा मिडियाका माध्यमबाट सरकारको आलोचना गर्न सक्छन्, जुन चीनमा सम्भव छैन । बीआरआई परियोजनाले हुने आर्थिक लाभबारे चर्चा अझै जारी नै छ ।

यस परियोजनाबाट कसले के कति लाभ लिन्छ, कसलाई कति घाटा लाग्छ त्यो, समयले बताउनेछ । तर, अहिले हेर्दा सबैभन्दा ठूलो हानी भने वातावरणमा भएको देखिन्छ ।

Facebook Comments Box

Share Icon