Share Icon

नेतृत्व गर्ने बाबुराम, प्रचण्ड र हामी नै हौं । बाबुरामजीले कम्युनिस्ट विचारधारा नै मान्दिनँ भन्नुभयो । उहाँको कुरा सकिइहाल्यो । प्रचण्डजीको कुरा हो । उहाँ यही संविधान र व्यवस्थाको रक्षा गरेर जानुपर्छ भन्नुहुन्छ ।

तत्कालीन सात राजनीतिक दल र युद्धरत नेकपा (माओवादी) बीच शान्ति सम्झौता भएको यही ५ मंसिरमा १७ वर्ष पूरा भएको छ । उक्त विस्तृत शान्ति सम्झौताका कतिपय महत्वपूर्ण काम अझै टुंगिन नसकेका कारण युद्धपीडितको घाउमा मल्हम लगाउने काम राज्यले गर्न सकेको छैन ।

तत्कालीन नेकपा (माओवादी) को मूल नेतृत्वमा रहेका मध्ये मोहन वैद्य ‘किरण’ ले सुरुदेखि नै विस्तृत शान्ति सम्झौतामा फरक मत र असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन् । तत्कालीन माओवादीले सम्झौता गर्ने निर्णय गर्दा किरण बहुचर्चित चुनवाङ बैठकमा सहभागी थिएनन् । उनी लगायत केही नेताहरू भारतको जेलमा थिए ।

शान्ति सम्झौतासँगै उनीहरू रिहा भए पनि शान्ति प्रक्रिया कार्यान्वयनको पाटोमा सक्रिय रहेनन् । अहिले उक्त प्रक्रियाले पूर्णता पाउन ढिलाइ भइरहँदा ‘किरण’ लाई लागेको छ— ‘शान्ति सम्झौता जनयुद्धलाई समाप्त गर्न र क्रान्तिकारीहरूलाई आत्मसमर्पण गराउनका लागि गरिएको थियो ।’

तर माओवादी शान्ति प्रक्रियामा आएको ६ वर्षपछि शहरी जनविद्रोहको नारा दिएर पार्टी विभाजन गरेका उनी आफंैले पनि उनकै भाषामा ‘क्रान्तिको झण्डा उठाइरहने’ बाहेक केही नयाँ कुरा गर्न सकेका छैनन् । यिनै सन्दर्भमा अनलाइनखबरकर्मी सुदर्शन खतिवडा र दिपेश शाहीले गरेको कुराकानी :

विस्तृत शान्ति प्रक्रिया सुरु भएको १७ वर्ष पूरा भएको छ । यो अवधिमा के भयो, के भएन र के हुनुपथ्र्यो ? तपाईंको समीक्षा के हो ?

आन्दोलनमा सम्झौता त गर्नुपर्ने हुन्छ । शान्ति सम्झौता पनि त्यही अनुसार भयो । वास्तवमा यो शान्ति प्रक्रिया माओवादी जनयुद्धलाई समाप्त पार्ने हिसाबले अगाडि बढ्यो ।

हामीले दश वर्षको जनयुद्ध नेपालमा नयाँ जनवादी राष्ट्रियता स्थापना गर्दै वैज्ञानिक समाजवादतर्फ जाने भनेर सुरु गरेका थियौं । तर यसले संसदीय व्यवस्थाको ठाउँमा संसदीय व्यवस्था नै ल्याइदियो । त्यसैले यो प्रक्रिया गलत रह्यो भनेर भन्दै आएका छौं । जनताका समस्या समाधान भएनन् । यो सफलतापूर्वक अगाडि बढ्न सकेन ।

त्यसो भए विकल्प के हुनसक्थ्यो ?

विकल्प धेरै हुनसक्थे । एउटा विकल्प त आन्दोलन अगाडि बढ्दै गएको अवस्थामा हाम्रो जित हुनसक्थ्यो । मलाई लाग्छ, हामीले जित्न सक्थ्यौं । यो तरिकाले शान्ति प्रक्रियामा नगएर युद्धलाई अलिकति लम्ब्याइदिएको भए हाम्रो जित हुन्थ्यो ।

भारतको नक्सलिस्ट जस्तो आन्दोलन कहिल्यै नटुंगिने, नतिजा ननिस्किने जोखिम पनि हुनसक्थ्यो नि हैन ?

त्यस्तो होइन । जुन तरिकाले शान्ति प्रक्रिया अगाडि बढ्यो त्यो क्रान्तिकारीहरूलाई आत्मसमर्पण गराउनका लागि गरिएको हो । आखिर आत्मसमर्पण भइहाल्यो ।

नयाँ जनवादी राज्यसत्ता स्थापना गरेर वैज्ञानिक समाजवादतर्फ जाने हाम्रो जुन लक्ष्य थियो त्यो पूरा हुन सकेन । यो शान्ति प्रक्रियाले देशलाई गलत बाटोमा लग्यो ।

तपाईंले नेतृत्व गरेको पार्टी शान्ति प्रक्रिया नै गलत भनेर फरक बाटोबाट जान खोजेको  छ । तर तपाईंले विद्रोह गरेको एक दशकभन्दा बढी भइसक्दा पनि नतिजा त केही निस्किन सकेन है ?

हामीले त विद्रोह गर्दा नै १२ बुँदे सहमति गलत भएको छ भनेर भन्यौं । जनयुद्धको अन्त्य भनेर भन्नु नेतृत्वको गल्ती हो भनेर भन्दै आएका छौं ।

नतिजा निस्किन सकेन भनेको ठीकै हो । एकै ठाउँमा भएको भए हामी अर्कै ठाउँमा पुग्थ्यौं । तर त्यत्रो पार्टी विभाजित भयो । विभाजित भइसकेपछि त कसरी गर्न सकिन्छ ।

हामीले संसदवादमा विलीन हुनुभन्दा क्रान्तिको झण्डा उठाएरै राखौं, फेरि उपयुक्त परिस्थिति आयो भने आन्दोलनको प्रक्रियालाई अगाडि बढाएर देश र जनताले चाहेको सत्ता र व्यवस्था स्थापना गर्न सकिन्छ भन्ने हो ।

त्यो उपयुक्त मौका भनेको कस्तो हो ? त्यसपछि गर्ने भनेको हिजोको जस्तै जनयुद्ध हो कि अरू केही मोडेल छ ?

उपयुक्त भनेको आत्मगत स्थिति बलियो बनाएर जाने भनेको हो । दोस्रो, हिजोको जस्तै जनयुद्ध हुँदैन ।

हतियार त उठाउनुपर्छ । तर कसरी उठाउने भन्ने कुरा त्यो बेलाको परिस्थितिले निर्धारण गर्छ । हामी आफ्नो तरिकाले जनसंघर्ष र जनविद्रोहको बाटो हुँदै जान्छौं । सरकारले कस्तो रवैया अपनाउँछ त्यही अनुसार जानुपर्ने हुन्छ ।

हिजो क्रान्तिलाई त्यो स्तरमा उठाउने जो मूल नेतृत्व हुनुहुन्थ्यो, तपाईंहरूलाई एकठाउँमा ल्याउने परिस्थिति आउला ? यदि आयो भने त्यसलाई के चिजले जोड्न सक्छ ?

त्यसलाई नेतृत्व गर्ने बाबुराम, प्रचण्ड र हामी नै हौं । बाबुरामजीले कम्युनिस्ट विचारधारा नै मान्दिनँ भन्नुभयो । उहाँको कुरा सकिइहाल्यो । प्रचण्डजीको कुरा हो । उहाँ यही संविधान र व्यवस्थाको रक्षा गरेर जानुपर्छ भन्नुहुन्छ ।

यही संविधान र व्यवस्थाको रक्षा गर्ने भए रूपान्तरण कहाँ गर्ने ? कुरा नै मिलेन । त्यस कारणले नेतृत्व तहमा उही ढंगले मिलेर जाला जस्तो लाग्दैन । तर कैयौं नेता र कार्यकर्ता आन्दोलन गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ ।

आन्दोलनमा शुद्धतावादी धारबाट जाने, नेताहरू टुक्राटुक्रा भएर कोठामा सीमित हुने, जनताको समस्या उठाउने शक्ति नहुने देखियो । जनता सडकमा आउने र त्यसको नेतृत्व तपाईंहरू जस्ता क्रान्तिकारीले गर्न नसक्ने किन भयो ?

यसमा विवाद गर्नुपर्ने छैन । क्रान्तिकारी शक्तिको आत्मबल कमजोर भयो । हामी विभाजित भयौं । हाम्रो शक्ति कमजोर भयो । त्यसो हुँदा अरू शक्ति अगाडि आइहाल्छन् ।

तर सधैंभरि यस्तो भइरहन्छ भन्ने छैन । आत्मगत र वस्तुगत परिस्थितिमा द्वन्द्वात्मक सम्बन्ध हुन्छ । जहाँ बलियो कमजोर हुन्छ, कमजोर बलियो हुन्छ । उदाहरणका लागि हाम्रो दशवर्षे जनयुद्ध नै छ । हामी थोरै नै थियौं । सानो अवस्थामा थियौं । मिहिनेत गर्यौं । देशव्यापी पार्टी बन्यो । संघर्ष गरियो ।

यही संसद् र यही संविधानलाई बलियो बनाउने भन्ने उहाँहरूको छ । हामी यसैलाई ढाल्ने भन्छौं । मूल कुरा नै मिलेको छैन । मूल कुरा नै नमिलेपछि कसरी सहमति हुने ?

हिजोको माले र आजको एमाले २०२८ सालमा कस्तो थियो ? आखिरमा विशाल शक्ति भएर आयो । अहिले हामी कमजोर छौं, अवस्था यो हो ।

जनताले पटक–पटक धोका पाउँदा क्रान्तिकारी शक्तिलाई विश्वास गर्ने अवस्था एकदमै कमजोर बनेको देखिन्छ !

हामीले विश्वास गर्ने अवस्था बनाउनुपर्छ । जनताले विश्वास गर्ने स्थितिमा पुर्याउनका लागि हाम्रा काम र गतिविधि बढाउनुपर्छ ।

दोस्रो, जनता आफैं सक्रिय नभइकन क्रान्ति सम्भव हुँदैन । क्रान्तिमा जनता लाग्नुपर्छ । कुनै पार्टीले भनेर लाग्ने होइन ।

स्वस्फूर्त ढंगले लाग्ने भन्नुभएको ?

जनता स्वस्फूर्त ढंगले क्रान्तिमा लाग्ने होइन । सचेत ढंगले लाग्नुपर्छ । यी पार्टीले ल्याएका कुरा ठीक छन्, लाग्नुपर्छ भनेर लाग्ने हो ।

पार्टीले पनि त्यो विश्वास बनाउनु पर्यो, जनता लाग्छन् । अहिले हुँदैन, अलिकति समय लाग्छ ।

तपाईंहरूले आफ्नै शक्तिको मूल्यांकन गरिरहनुभएको होला । कमजोर भए पनि क्रान्तिको झण्डा उठाइरहेका छौं भन्नुभएको छ । तपाईंकै दर्शनले कुनै पनि वस्तुको विकास वा विनाशका लागि बाह्य भन्दा आन्तरिक पक्ष प्रधान हुन्छ भन्छ । तपाईंले अहिलेको अवस्था आउनुमा के कमजोरी भए भनेर समीक्षा गर्नुभएको छ ?

त्यस्तो कमजोरी हामीमा पनि छन् । कम्युनिस्ट आन्दोलनमा निम्न पूँजीवादी प्रवृत्ति हावी हुन्छ, भइराख्छ । हामी त्यो निम्न पूँजीवादी प्रवृत्तिका विरुद्ध लड्दै जानुपर्ने हुन्छ । अलिकति ठूलो बलियो भयो भने तात्ने, अलिकति कमजोर भएपछि सेलाइहाल्ने हुन्छ ।

हाम्रा आफ्नै पनि कतिपय कमी–कमजोरी र सीमा छन् भन्ने हामी मान्छौं । हामीले पनि आफ्ना कमजोरीको रिभ्यू गर्नुपर्छ । मूल कुरा सच्चा क्रान्तिकारी शक्तिलाई गोलबद्ध गर्न नसक्नु हाम्रो कमजोरी हो ।

क्रान्तिकारीहरू गोलबद्ध गर्ने भन्दै हुनुहुन्छ । प्रचण्ड, बाबुराम, विप्लव लगायत शक्ति छलफलमा छन् । यतातिर तपाईं र नेकपा बहुमत पनि एक हुनुभयो । तपाईं सबै एकैठाउँमा आउने गरी छलफल भएको छैन ?

यही संसद् र यही संविधानलाई बलियो बनाउने भन्ने उहाँहरूको छ । हामी यसैलाई ढाल्ने भन्छौं । मूल कुरा नै मिलेको छैन । मूल कुरा नै नमिलेपछि कसरी सहमति हुने ?

युद्ध रोकिएको केही समयमा नै तपाईं क्रान्तिकारीहरू भनिएकाहरूले पार्टी विभाजन गर्नुभयो । तर तपाईं क्रान्तिकारी भन्नेहरू नै एकठाउँमा रहन सक्नुभएको छैन । तपाईंहरू आफैं एकठाउँमा नहुँदा जनता कसरी कन्भिन्स हुने ?

जनता कन्भिन्स हुने कुरा त हाम्रै व्यवहारले हो । जनता किन कन्भिन्स भएनन् भनेर भन्ने कुरा हुँदैन । हामीले सकेनौं ।

हामीले क्रान्तिकारीलाई गोलबद्ध गर्न पनि सकेनौं, आफ्ना कमजोरीलाई हटाउन पनि सकेनौं । यिनै कमजोरीका बारेमा समीक्षा गरेर सच्चा क्रान्तिकारीहरू एकठाउँमा आएर क्रान्तिकारी पार्टी बनाउनुपर्छ भन्ने हाम्रो ध्येय हो ।

अहिले क्रान्तिकारी माओवादी र नेकपा बहुमत एकताबद्ध भएका छौं । अझै हाम्रो प्रयास अरू क्रान्तिकारीलाई पनि एकताबद्ध गर्ने हुन्छ । अर्को कुरा हाम्रा नीति र कार्यक्रममा रहेका कमी–कमजोरीलाई पनि सच्याउँदै, परिमार्जन गरेर नयाँ ढंगले जानुपर्छ । तेस्रो, हामीले संघर्षका कार्यक्रम लिएर जनतामा जानुपर्छ ।

तपाईंहरू जनतामा जाने भन्नुहुन्छ । तर सडकमा जनता आउने र त्यसको नेतृत्व दुर्गा प्रसाईं वा त्यस्तै कसैले गरिरहेको हुन्छ । बस्तीमा मिटरब्याज पीडितहरू आन्दोलन गर्ने, तर तपाईंको पार्टी बेखबर हुने । जनताका मुद्दाबाट टाढा पुग्यौं भन्ने लाग्दैन ?

यो कुरा ठीकै हो । तर यसमा एउटा गुनासो मिडियासँग पनि छ । हामीले गरेका आन्दोलनमा मिडियाबाट असहयोग भइरहेको हुन्छ । सबैलाई लक्षित गरेर भनेको होइन ।

सबै होइन, केही मिडिया नै संसद्वादी पार्टीहरूका जस्ता भए । श्रमजीवी पत्रकारलाई भनेको होइन । श्रमजीवीका पनि आफ्नै समस्या हुन्छन् ।

भूमण्डलीकृत साम्राज्यवादको एकाधिकार छ । पूरा सूचना र सञ्चार चलाउने एक ठाउँमा बसेको छ । र, उसले नियन्त्रण गरेको छ । अनि संसद्मा हुनेहरू पार्टी भए, संसद् बाहिरका पार्टी होइनन् भन्ने जस्तो स्थिति छ ।

यहाँसम्म कि हामीसँग अन्तर्वार्ता लिइन्छ, तर छापिन्न । यहाँनेर के हो भने हामी जनतासँग जाँदै नगएको वा उनीहरूका समस्यामा सँगै नउभिएको होइन ।

भूमण्डलीकृत विश्व साम्राज्यवाद, सूचनाप्रविधिको कुरा गर्नुभयो । तपाईंले पार्टीको नीति र कार्यक्रम बनाउँदा अहिलेको नयाँ पुस्ताले के रुचाउँछ, उनीहरूको आवश्यकता के हो भनेर केही सोच्नुहुन्छ ?

हाम्रो समाजमा भूमण्डलीकृत उपभोक्तावाद व्याप्त छ । यसलाई चिर्दै जानुपर्छ । तीसवर्षे पञ्चायती शासनकालमा जनताको अभिव्यक्ति स्वतन्त्रता के थियो र पछिल्लो समयमा के छ भनेर हेर्नुपर्छ ।

अघिल्लो व्यवस्थालाई ढाल्ने पार्टी मात्रै होइनन्, मिडियाको पनि भूमिका थियो । श्रमजीवी पत्रकारलाई पनि परिवर्तन चाहिएको थियो ।

तर यहाँ रूपान्तरणकारी शक्ति बनाउने भन्दा पनि उपभोक्ता बनाउने काम भइरहेको छ । पूँजीवादका अगाडि निरीह बनाउने किसिमले सामग्री पस्किन लगाइन्छ । त्यो पनि भूमण्डलीकृत साम्राज्यवादको असर हो । त्यो पुस्तालाई हामीले यो कुरा बुझाउन सकेका छैनौं, यो बुझाउनुपर्नेछ ।

सडकमा हजारौं मान्छे आइसकेका छन्, तपाईंहरू चाहिं छलफल र बहसमा नै व्यस्त भइयो भन्ने लाग्दैन ?

हाम्रा कमजोरी र सीमा छन् । सबै ठाउँमा हामीले नेतृत्व गर्न सक्यौं भन्ने होइन । जनजीविका र राष्ट्रियताको विषयमा त हामीले उठाएका नै छौं । सडकमा आएका नै छौं ।

अब एकीकृत भएर आउन सकेका छैनौं । यसलाई जनताको कमजोरी भन्न मिल्दैन । यो हाम्रै कमजोरी हो । यसमा तपाईंहरूले पनि औंल्याउनुपर्छ ।

अहिले सडकमा देखिएको असन्तुष्टिलाई नेतृत्व दिनुपर्छ भनेर केही सोच्नुभएको छ ?

योजनाबद्ध ढंगले सडकमा आन्दोलन उठाउने विषयमा हाम्रो प्रयास जारी छ ।

सडकमा आउने असन्तुष्ट नागरिकलाई के भन्न चाहनुहुन्छ ?

सडकमा आउने जनताले राम्रो गर्नुभएको छ । उहाँहरू रूपान्तरणका लागि लाग्नुपर्छ, एकछिन स्वतस्फूर्त ढंगले सडकमा आएर मात्रै हुँदैन । सचेत भएर आउनुहोस् ।

चुनावको चक्र चलेको छ । हिजो कांग्रेसले संसदको मसीहा भनेर भन्थ्यो । पछि एमाले थपियो । अहिले माओवादी केन्द्र पनि थपियो । अहिले संसदीय व्यवस्था कांग्रेसको हो कि कम्युनिस्टको भन्ने देखियो । अहिले त रास्वपा पनि आइसक्यो । यिनीहरू सक्दैनन्, हामी गर्छौं भन्दैछन् ।

अहिले सबै लागेर फेरि आगामी चुनावको लागि लागेका छन् । यो चक्रव्यूहमा फसेर हुँदैन । हामीले यसलाई चिरेर सडकलाई आफ्नो बनाउनुपर्छ भन्ने हो ।

Facebook Comments Box

Share Icon