Share Icon

१६ कात्तिक, पोखरा । नर्थ नेपाल ट्राभल एन्ड ट्रेक्स चलाइरहेका मोहन भण्डारी यो सिजनमा एकदमै व्यस्त छन् । आफ्नो एजेन्सीमा आएका पाहुनालाई घुमाउन उनलाई भ्याइनभ्याइ छ । उनको एजेन्सीमार्फत ट्रेकिङ जाने गरी ‘बुक’ गरेका अधिकांश पदयात्री नेपाली छन् ।

‘कोभिडपछि नेपालीहरुको घुम्ने, ट्रेक जाने एकदमै ट्रेन्ड नै भयो । दशैंपछि त झन् भ्याइनभ्याइ छ,’ भण्डारीले भने, ‘यो संख्या बढ्नुमा धेरैपछि दसैंमा धेरै बिदा भएर पनि हुन सक्छ ।’

भण्डारीका अनुसार यो वर्ष अधिकांश नेपाली पदयात्री पोखरादेखि नजिकै पर्ने पदमार्ग मर्दी र खुमैंडाँडा ट्रेकिङ जानेेको लर्को नै लागेको छ । विदेशी पदयात्रीको रोजाइ भने मनास्लु र अन्नपूर्ण सर्किट छ ।

करिब २ वर्षअघिमात्रै ‘एक्स्प्लोर’ भएकोे खुमैंडाँडा-कोर्चाङ पदमार्ग एकाएक आन्तरिक पदयात्रीको घुइँचो छ । आँखैअगाडि माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि हिमशृंखला र दक्षिणी भागमा पोखरा बजार खुमैं-कोर्चाङको मुख्य विशेषता हो ।

समुद्री सतहदेखि ३ हजार २४५ मिटर उचाइमा रहेको खुमैंडाँडा पोखरादेखि छोटो समयमै पुगेर फर्किन मिल्ने भएपछि धेरै नेपाली पदयात्रीको पहिलो रोजाइँ भएको भण्डारी बताउँछन् । ‘पोखरादेखि नजिकै र छोटोसमयमै त्यो उचाइँमा पुग्न पाएपछि धेरै नेपाली त्यहाँ पुग्न थालेका छन्,’ भण्डारी भन्छन् ।

पछिल्लो समय सोही क्षेत्रमा पर्ने मर्दी हिमाल पदमार्गमा पनि आन्तरिक पदयात्रीको घुइँचो छ । माछापुच्छ्रे गाउँपालिकाका कार्यपालिका सदस्य राम गुरुङका अनुसार मर्दीमा गतवर्षमात्रै ३५ हजारजना भन्दा बढी पदयात्री पुगेका थिए । ‘यो वर्षचाहिँ नेपालीभन्दा विदेशी धेरै आएका छन् । खुमैं भर्खरै खुलेको पदमार्ग भएकाले त्यहाँ पुगेकाहरुको तथ्यांक राख्न बाँकी छ,’ उनले भने ।

दशैंलगत्तै पोखराको पर्यटन हृवात्तै बढ्दा एकहप्तायता पोखराका होटलको अकुपेन्सी ६० प्रतिशतसम्म पुगेको थियो । होटल व्यवसायीका अनुसार यो सिजनमा कोभिड महामारीपछि कै सबैभन्दा धेरै हो ।

‘गण्डकीका जुनसुकै पर्यटकीय गन्तव्य गए पनि पोखरा ट्रान्जिट प्वाइन्ट भएकाले बसाइ यहीं हुन्छ । सरदरमा भन्दा पोेखरामा पर्यटकको बसाइ २ दिनको हुन्छ,’ पश्चिमाञ्चल होटल व्यवसायी संघका अध्यक्ष लक्ष्मण सुवेदी भन्छन्, ‘मुस्ताङ गए पनि, एबीसीलगायत ट्रेकिङ गए पनि बास भने पोखरामै हुन्छ ।’

सुवेदीका अनुसार पोखराका होटलहरुले एकदिनमा ४० हजार जना राख्ने क्षमता राख्दछ । त्यसरी हेर्दा पछिल्लो एक सातायता दैनिक करिब २० हजारभन्दा धेरै पर्यटक पोखरा आएका छन् । ‘आन्तरिक पर्यटकको ठ्याक्कै तथ्यांक हामीसँग हुँदैन । हामीले राख्ने भनेकै होटल अकुपेन्सीका आधारमा हो । यो हप्तामा पोखरा आएका पर्यटकमध्ये ३५ प्रतिशत विदेशी थिए,’ सुवेदीले भने ।

अक्टुबर र नोभेम्बर पर्यटकीय सिजन भएकाले पनि धेरै पर्यटकको संख्या योबेला धेरै हुने पर्यटन व्यवसायीको भनाइ छ । ‘दशैंको विदा सकिएसँगै अकुपेन्सी पनि विस्तारै घट्दैछ । अहिले दैनिक ४५/५० प्रतिशतको हाराहारीमा होटल अकुपेन्सी छ,’ सुवेदीले अनलाइनखबरसँग भने ।

सुवेदीका अनुसार सन् २०२० र २१ मा पोखराको पर्यटन शून्यमा झरेको थियो । सन् २०२२ मा केही पर्यटक आए पनि २०२३ मा भने हृवात्तै बढेका हुन् । ‘पहिलो ६ महिनामै हवाइमार्ग प्रयोग गरेर आउनेहरु ६ लाखभन्दा बढी थिए । यसरी हेर्दा यो वर्ष ९ लाखभन्दा पर्यटक आउने अपेक्षा राखेका छौं,’ सुवेदी भन्छन्, ‘किनभने पर्यटनको पिक सिजन अझै हामीसँग बाँकी छ ।’

पर्यटन व्यवसायी मोहन भण्डारीका अनुसार विदेशी पर्यटकमा सबैभन्दा बढी अमेरिका र अस्ट्रेलियादेखि आएका छन् । अघिल्ला वर्षहरुमा भारतदेखि आउने पर्यटकको संख्यामा यो वर्ष केही कमी आएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र योजना (एक्याप)को तथ्यांकअनुसार सन् २०२२ को अक्टुबर-नोभेम्बरमा सबैभन्दा बढी विदेशी पर्यटकले अन्नपूर्ण सेन्चुरी पदयात्रा गरेका थिए । उक्त सिजनमा ४ हजार ५५ जना अन्नपूर्ण आधार शिविर पुगेका थिए ।

तर, सन् २०२३ को अपि्रल-मे महिनामै अघिल्लो वर्षको ‘पिक सिजन’को रेकर्ड तोड्दै यो वर्ष ४ हजार ५ सय ८३ जना अन्नपूर्ण आधार शिविर पुगिसकेका छन् । अन्नपूर्ण आधार शिविर पदयात्रामा जानेमा सबैभन्दा बढी जर्मनी नागरिक छन् ।

Facebook Comments Box

Share Icon