Share Icon

काठमाडौं । गृहमन्त्रीमा पदभार ग्रहण गरेदेखि नै अपराध र भ्रष्टाचारका घटनामा खरो उत्रिएको भन्दै प्रशंसा बटुलेका नारायकाजी श्रेष्ठ यतिखेर पनि मौन देखिएका छन्।

चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङ पक्राउ परेसँगै राजस्व अनुसन्धान विभागले करीब एक क्विन्टल सुन तस्करी प्रकरणको राजनीतिक ‘कनेक्सन’ तिर अनुसन्धान थालेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको करीब एक क्विन्टल सुन साउन ३ मा बरामद गरेयता प्रमुख प्रतिपक्षी नेकपा एमाले आक्रामक बनेको छ। एमाले अधयक्ष केपी शर्मा ओलीले त गृहमन्त्रीको राजीनामा नै माग गरेका छन्।

राजस्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धानका क्रममा भने सय किलो सुन तस्करीको कनेक्सन गृहमन्त्री श्रेष्ठको पार्टी नेकपा माओवादी केन्द्रका नेताहरुको संलग्नता भएको खुल्न आएको छ।

काठमाडौंको ठमेलबाट साउन १४ मा चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङलाई पक्राउ गरेसँगै सुन तस्करी प्रकरणमा माओवादी नेताहरुको ‘कनेक्सन’ देखिन थालेको छ।

ठमेलबाट पक्राउ परेका दावा चिनियाँ आपराधिक गिरोहलाई नेपाल भित्र्याउने ‘एजेन्ट’ हुन्, उनको ‘कनेक्सन’ नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन, पूर्वसभामुख ओन्सरी घर्तीलगायतहरूसँग देखिन्छ।

विभागका महानिर्देशक नवराज ढुंगानाले दावा सुन तस्करीमा संलग्न भएको प्रमाण फेला परेकाले नियन्त्रणमा लिएको पुष्टि गरेका हुन्।

उनीसँगै सुन तस्करीको आरोपमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ। यद्यपि अधिकांश भरिया वा सहयोगी तहका मात्रै छन्। तस्करी गराउने व्यक्तिहरूको तहतर्फ अनुसन्धान पुगिनसकेकाले दावाको पक्राउले गिरोहको उपल्लो तहमा उक्लन सहज हुने अनुसन्धानमा संलग्न अधिकारीहरूको भनाइ छ।

विभागले गोदाम, सुन गाल्ने मशिन लगायत सामान बरामद गरेकाले तस्करीमा ठूला व्यापारी र राजनीतिक व्यक्तिको संलग्नता रहेको पुष्टि हुन्छ। दावा पक्राउसँगै राजनीतिक तह ‘एक्सपोज’ हुने भएपछि गृहमन्त्री श्रेष्ठले अनुसन्धान रोक्न सक्ने जोखिम रहेको एक अधिकारीले बताए।

दावा पक्राउ परेको काठमाडौंको ठमेलस्थित होटलमा यसअघि २०७९ साउन ११ गते पनि प्रहरीले यस होटलमा छापा मारेको थियो। ठगीको आरोपमा चार चिनियाँ नागरिकलाई पक्राउ गर्दा २६ वटा ल्यापटप, ४७२ वटा मोबाइल, एक लाख ९० हजार मूल्य बराबरको सिम कार्ड बरामद भएको थियो।

मञ्जिल श्रेष्ठ र अमला रोकाले घरधनी रत्नमान श्रेष्ठसँग होटल चलाउन सम्झौता गरेको भेटिएको थियो। अमला माओवादी उपमहासचिव वर्षमान पुन र ओनसरी घर्तीसँग पारिवारिक सम्बन्ध भएकी व्यक्ति हुन्। गिरोहका सदस्य दावा सहितको टोलीले बारम्बार पुन र घर्तीलाई भेट्ने गरेको पाइएको छ। घर्तीलाई त यो गिरोहले सभामुख भएकै वेला कार्यकक्षमै पुगेर भेटेको थियो।

यो गिरोहका नेपाली साझेदारको सम्बन्ध माओवादी नेता तथा प्रहरी प्रशासनमा रहेका व्यक्तिसँग देखिएपछि अनुसन्धान अघि नबढ्ने चिन्ता बढेको छ। कुनै घटनामा प्रतिक्रिया दिन हतार गर्ने गृहमन्त्री श्रेष्ठ अहिले मौन छन्।

Facebook Comments Box

Share Icon