कोरोनाभाइरस प्रयोगशालाबाट फैलिएको सम्भावना किन नकार्न सकिन्न ?
एजेन्सी । एउटा प्रयोगशालाबाट कोरोनाभाइरस बाहिर फैलिएको सम्भावनालाई अस्वीकार गर्न नसकिने चीनका एक भूतपूर्व उच्चपदस्थ सरकारी वैज्ञानिकले बीबीसी न्यूजलाई बताएका छन्।
चीनको सेन्टर फर डिजीज कन्ट्रोल (सीडीसी) का पूर्वप्रमुख प्राध्यापक जोर्ज गाओ कोभिड नियन्त्रण र त्यसको उत्पत्ति पत्ता लगाउने प्रयासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्ति हुन्।
वुहानस्थित एउटा प्रयोगशालामा कोरोनाभाइरसको उत्पत्ति भएको हुनसक्ने दाबीलाई चिनियाँ सरकारले अस्वीकार गर्दै आएको छ।
प्राध्यापक गाओ पनि त्यति खुल्दैनन्।
बीबीसी रेडिओ फोरको पडकास्ट ‘फIभरः द हन्ट फर कोभिड्स् ओरिजिन’लाई दिएको अन्तर्वार्तामा प्राध्यापक गाओले भने, “तपाईँ सबै कुरामाथि शङ्का गर्न सक्नुहुन्छ। त्यो विज्ञान हो। कुनै पनि कुरालाई अस्वीकार नगर्नुहोस्।”
सीडीसीबाट गत वर्ष अवकाश पाएपछि विश्वका अग्रणी भाइरोलजिस्ट तथा इम्यूनोलजिस्ट गाओ अहिले न्याश्नल न्याचरल साइन्स फाउन्डेशन अफ चाइनाका उपसभापति छन्।
प्रयोगशालाबाट कोरोनाभाइरस फैलिएको हो भन्ने मान्यताबारे चिनियाँ सरकारले औपचारिक धारणामा भनेभन्दा सरकारले यसलाई थप गम्भीर रूपमा लिएको हुनसक्ने सङ्केत गर्दै गाओले वुहान इन्स्टिट्यूट अफ भाइरोलजी (डब्ल्यूआईभी)ले केही औपचारिक अनुसन्धान गरेको बीबीसीलाई बताए।
“सरकारले केही गरेको” भए पनि त्यसमा आफूले नेतृत्व गरेको सीडीसी संलग्न नभएको उनले भने।
उसोभए सरकारको अर्कै निकायले चीनका उत्कृष्टमध्येको र कोरोनाभाइरसको अध्ययनमा वर्षौँ बिताएको राष्ट्रिय प्रयोगशाला डब्ल्यूआईभीमा खानतलासी गरेको थियो त?
जबाफमा उनले भने, “हो, सोही क्षेत्रका अरू विज्ञले पनि अर्को पटक प्रयोगशालालाई हेरे।”
कोरोनाभाइरस प्रयोगशालामा उत्पत्ति भएको सम्भावनाबारे केही औपचारिक अनुसन्धान गरिएको थियो भन्ने यो पहिलो स्वीकारोक्ति हो। तर प्राध्यापक गाओका अनुसार त्यसको नतिजा उनले हेरेका छैनन्।
अनुसन्धानबाट उक्त प्रयोगशालाले “सफाइ पाएको” आफूले सुनेको उनले बताए।
“मेरो विचारमा प्रयोगशालाले सबै मापदण्डहरू पालना गर्दै आएको छ भन्ने उनीहरूको निष्कर्ष हो। त्यहाँ कुनै गल्ती भएको उनीहरूले फेला पारेनन्।”
चमेराबाट सरेको भाइरसले कोभिड निम्त्याएको लगभग निश्चित भइसकेको छ। तर चमेराबाट मान्छेमा भाइरस कसरी सर्यो भन्ने कुरा निकै विवादित छ। त्यसबारे सुरुदेखि नै दुइटा सम्भावनाबारे कुरा हुँदै आएको छ।
एउटा सम्भावना भनेको चमेराबाट सम्भवतः अरू जनावरमार्फत् भाइरस मानिसमा सर्यो।
धेरै वैज्ञानिकहरूका अनुसार उपलब्ध प्रमाणहरूको आयतन हेर्दा त्यो कुरा हुनसक्ने सम्भावना बढी देखिन्छ।
तर अरू वैज्ञानिकले अर्को मुख्य सम्भावनालाई नकार्न सक्ने पर्याप्त प्रमाण देखिँदैन- त्यो भनेको प्रकृतिबाट उत्पन्न हुने भाइरसको खतराबारे अनुसन्धान गर्ने क्रममा त्यसले अनुसन्धानमा संलग्न कसैलाई सङ्क्रमित तुल्याएको हुन सक्छ।
यी दुई विकल्प अहिले भूराजनीतिक तनाव, निरन्तर सतहमा ल्याइएका आशङ्का (कन्स्पिरसी थिअरी) र हाम्रो समयकै सबैभन्दा राजनीतिक र विषाक्त वैज्ञानिक बहसका केन्द्रमा छन्।
बीबीसीको नयाँ पडकास्टमा हामीले यो कठिनाइमाथि प्रकाश पारेका छौँ भने बहसका सबै कोणबारे अग्रणी वैज्ञानिकहरूलाई अन्तर्वार्ता गर्नुका साथै वुहानका सडकदेखि कडा सुरक्षा व्यवस्था भएको एउटा अमेरिकी प्रयोगशालासम्मका स्थलगत रिपोर्टलाई समेटेका छौँ।
कोरोनाभाइरसले पकड बढाउँदै लगिरहेका बेला सन् २०२० को ज्यानुअरीमा सिङ्गापुरमा अवस्थित एक वैज्ञानिक प्राध्यापक वाङ लिन्फाले मानार्थ प्राध्यापकका हैसियतमा वुहान इन्स्टिट्यूट अफ भाइरोलजी (डब्ल्यूआईभी) को भ्रमण गरेका थिए।
उनले बीबीसीलाई बताएअनुसार डब्ल्यूआईभीमा कार्यरत एक उनकी एक सहकर्मी प्रयोगशालाबाट भाइरस फैलिएको हुनसक्नेबारे चिन्तित थिइन्, तर पछि त्यो सम्भावनालाई खारेज गर्न उनी सफल भइन्।
प्राध्यापक वाङ सिङ्गापुरस्थित ड्यूक-एनयूएस मेडिकल स्कूलमा अध्यापन गर्छन्। उनी देखा पर्ने नयाँ सङ्क्रामक रोगसम्बन्धी विशेषज्ञ हुन्।
उनी डब्ल्यूआईभीस्थित त्यस्तै विशेषज्ञता भएकी प्राध्यापक शी जेङ्लीसँग नियमित सहकार्य गर्छन्।
लामो समयदेखिका यी दुई साथी चमेरामा हुने कोरोनाभाइरसबारे विश्वका वरिष्ठ विशेषज्ञ हुन्। उनीहरूले ‘ब्याटम्यान’ र ‘ब्याटवुमन’को उपनाम नै पाएका छन्।
प्राध्यापक शीले प्राध्यापक वाङलाई बताएअनुसार उनी एक पटक एक-दुई रात निदाउन सकिनन् किनकि उनलाई एउटा सम्भावनाबारे चिन्ता लागेको थियो।
“उनको प्रयोगशालामा उनलाई जानकारी नभएको कुनै नमुनामा सम्भवतः भाइरस थियो। त्यसले अरू केहीलाई सङ्क्रमित बनायो र त्यहाँबाट बाहिर पुग्यो।”
तर प्राध्यापक शीले सबै नमुनाहरू परीक्षण गर्दा कोभिड गराउने अथवा महामारी निम्त्याउने त्योसरहका अन्य कुनै भाइरस रहेको प्रमाण भेटिएन।
प्राध्यापक शी अथवा उनको टोलीका अन्य कुनै सदस्यले प्रयोगशालाबाट भाइरस फैलिएको तथ्य लुकाएको “सम्भावना शून्य रहेको” प्राध्यापक वाङ बताउँछन्।
वाङका अनुसार उनीहरूले केही पनि नभएको जस्तो व्यवहार देखाइरहेका थिए, सँगै खाना खान जाने गरेका थिए। उनीहरूले साङ्गीतिक जमघट गर्ने योजना पनि बनाइरहेका थिए।
पहिला गोप्य भनी वर्गीकृत तर अहिले गोप्य नराखिएको अमेरिकी गुप्तचर दस्तावेजअनुसार सन् २०१९ को शरद्याममा डब्ल्यूआईभीका कैयौँ अध्येताहरू बिरामी परेका थिए। उनीहरूमा कोभिड र मौसमका कारण उत्पन्न हुने विभिन्न लक्षणहरू देखा परेका थिए।
तर प्राध्यापक शीले सबै नमुनाहरू परीक्षण गर्दा कोभिड गराउने अथवा महामारी निम्त्याउने त्योसरहका अन्य कुनै भाइरस रहेको प्रमाण भेटिएन।
प्राध्यापक शी अथवा उनको टोलीका अन्य कुनै सदस्यले प्रयोगशालाबाट भाइरस फैलिएको तथ्य लुकाएको “सम्भावना शून्य रहेको” प्राध्यापक वाङ बताउँछन्।
वाङका अनुसार उनीहरूले केही पनि नभएको जस्तो व्यवहार देखाइरहेका थिए, सँगै खाना खान जाने गरेका थिए। उनीहरूले साङ्गीतिक जमघट गर्ने योजना पनि बनाइरहेका थिए।
पहिला गोप्य भनी वर्गीकृत तर अहिले गोप्य नराखिएको अमेरिकी गुप्तचर दस्तावेजअनुसार सन् २०१९ को शरद्याममा डब्ल्यूआईभीका कैयौँ अध्येताहरू बिरामी परेका थिए। उनीहरूमा कोभिड र मौसमका कारण उत्पन्न हुने विभिन्न लक्षणहरू देखा परेका थिए।
जङ्गली स्तनधारी जीव पनि बिक्री गर्ने हुनान सीफूड मार्केट सुरुतिर भएका धेरै कोभिड घटनाहरूसँग जोडिएको छ।
त्यहाँ काम गरेका वा पसल थापेका कतिपय मानिसमा कोभिड देखिएको बताइन्छ।
चीन कम पारदर्शी भए पनि ती वैज्ञानिकहरूका अनुसार प्रयोगशालाबाट भाइरस फैलिएको कुरा खण्डन गर्ने पर्याप्त विवरण छन्।
खासमा सुरुदेखि नै यस्ता दाबीहरू सुनिँदै आएका हुन् र सन् २०२० को मार्चमा सार्वजनिक एउटा शोधपत्र सबैभन्दा चर्चामा रह्यो। इन्टरनेटको वर्तमान युगमा सबैभन्दा धेरै पढिएका र विज्ञानसम्बन्धी एकदमै विवादितमध्ये एउटा शोधपत्र बन्यो।
भाइरोलजी तथा नयाँनयाँ उत्पन्न भइरहेका रोगको क्षेत्रमा काम गरेका वरिष्ठ वैज्ञानिकहरूले “द प्रोक्सिमल ओरिजिन अफ सार्स-कोभ-टू” (सार्स-कोभ-२ को उत्त्पत्तिको निकटतम स्रोत) लेखेका हुन्। त्यसको निष्कर्ष छ : “ प्रयोगशालामा आधारित कुनै पनि प्रकारको उत्पत्ति सम्भव छ भन्ने कुरालाई हामी विश्वसनीय ठान्दैनौँ।”
अधिकांश सञ्चारमाध्यममा छिट्टै स्थान पाउन सफल उक्त शोधपत्रको कुराले प्रयोगशालाबाट भाइरस फैलिएको भएको भन्ने दाबी आशङ्का (कन्स्पिरसी थिअरी) मात्र रहेको कुरालाई अझ सुदृढ बनाउन सघायो।
तर उक्त शोधपत्रका लेखकमध्ये एक जनाले त्यो निष्कर्षको गाम्भीर्यलाई लिएर अहिले आफूलाई पनि सन्देह रहेको हाम्रो पडकास्टलाई बताए।
न्यूयोर्कस्थित कोलम्बिया यूनिभर्सिटीमा एपिडिमियोलजी विषयका प्राध्यापक इआन लिप्किनसँग चीनसहित विश्वभरि रोगहरूको ‘ट्र्याकिङ’ गर्ने लामो अनुभव छ।
चीनमै उनले बलियो सम्पर्क स्थापित गरेका छन्। उनी हलीवुडको एउटा निकै सफल चलचित्र ‘कन्टेजन’ (Contagion) का वैज्ञानिक सल्लाहकार पनि थिए।
प्राध्यापक लिप्किनका अनुसार प्रयोगशालामा भाइरस उत्पत्ति भएको धारणा शोधपत्रमा नकार्नु यसलाई अझ बलियो बनाउनु हो।
कोरोनाभाइरसको उत्पत्ति सम्बन्धमा बजार एउटा महत्त्वपूर्ण पाटो भएको बताउने प्राध्यापक लिप्किन भाइरस जानाजान बनाइएको कुरा पत्याउँदैनन्। उनी प्रयोगशाला र अनुसन्धानका परिदृश्यलाई नकार्न नसकिने तर्क गर्छन्।
वुहान सेन्टर फर डिजीज कन्ट्रोलद्वारा सञ्चालित वुहानको अर्को प्रयोगशालातर्फ इङ्गित गर्दै उनी आफ्नै एउटा सिद्धान्तको कुरा गर्छन्।
उक्त प्रयोगशाला हुनान सीफूड मार्केटदेखि केही सय मिटर मात्र टाढा छ।
त्यो प्रयोगशालाले अनुसन्धानका लागि जङ्गली चमेराका रगत र दिसाका हजारौँ नमुना सङ्कलन गरेको बताइन्छ।
चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार सङ्क्रमण हुने स्पष्ट जोखिमबीच कैयौँ पटक सुरक्षा सावधानीका पर्याप्त सामग्री प्रयोग नै नगरी अनुसन्धान गरिएका थिए।
“एउटा गुफामा चमेराहरू सङ्कलन गर्ने क्रममा उनीहरूमा सङ्क्रमण भएको हुन सक्छ,” प्राध्यापक लिप्किन भन्छन्।
प्राध्यापक लिप्किनका अनुसार सन् २०२०को मार्चमा शोधपत्र लेख्ने बेला त्यो प्रयोगशालाबारे उनी जानकार थिएनन्।
कोरोनाभाइरस “सीफूड मार्केटबाहिर उत्पत्ति भएको र बजारमा फैलिएको हुनसक्ने” उनी बताउँछन्।
प्रयोगशालाबाट भाइरस फैलिएको हुनसक्ने सम्भावनलाई नकार्न नसकिने प्राध्यापक गाओका प्रतिक्रिया चीनको सार्वजनिक अडानसँग गम्भीर रूपमा विरोधाभासपूर्ण र त्यसभन्दा बढी जोखिमपूर्ण देखिन्छ।
“तथाकथित ‘प्रयोगशाला चुहावट’ को कुरा चीनविरोधीहरूले सिर्जना गरेको मिथ्या कुरा हो। त्यो राजनीतिक दुराशयपूर्ण छ र कुनै वैज्ञानिक आधार छैन,” यूकेस्थित चिनियाँ दूतावासले उपलब्ध गराएको लिखित वक्तव्यमा उल्लेख छ।
“हामीलाई थाहा छैन कि भाइरस कहाँबाट आयो…। प्रश्न अझै खुलै छ,” प्राध्यापक गाओले बीबीसीसँग भने।
प्रश्न अझै खुला छ भन्ने कुरामा वैज्ञानिकहरूबीच कहिलेकाहीँ नमीठो विवाद पर्छ।
तर कम्तीमा चीनबाहिर एउटा कुरामा व्यापक सहमति छ कि चीनले प्रमाण खोज्न वा साझा गर्न पर्याप्त काम गरेको छैन।
हुन त यो सामान्य प्रश्न जस्तो लाग्छ, तर होइन।
आखिर कोभिड कहाँबाट आयो?
जसले ज्यान गुमाए, जो पीडित भए, अनि जो पीडित भएरहेका छन्, ती सबैका लागि यसको उत्तरले अर्थ राख्छ। सभार बीबीसी न्युजबाट