Share Icon

७ बैशाख, काठमाडाैं ।  आत्मबल मानिसको आन्तरिक शक्ति हो । अर्थात् मानसिक रुपमा शक्तिशाली हुनु आत्मबल बलियो हुनु हो । आत्मबलले शारीरिक काम गर्न पनि ऊर्जा दिन्छ । दिमाग, मन र बुद्धिको सम्मिश्रणले आत्मबल दिन्छ । आत्मबल बलियो हुने व्यक्तिले नै सफलता प्राप्त गर्छन् ।

शारीरिक तथा मानसिक समस्यामा औषधिसँगै आत्मबलको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । कोरोना महामारीका बेला पनि आत्मबल दह्रो भएको व्यक्तिले कोरोनालाई अलि छिटो जिते भने आत्मबल कमजोर भएको व्यक्तिले ढिलो ।

मानौं, कुनै व्यक्तिलाई टाउको दुख्यो, उसले ‘ओ हो टाउको दुख्यो, अन्य रोगको लक्षण पो हो कि’ भनेर सोच्न थाल्यो भने दुखाइ झन् बढ्छ । तर उसले सामान्य दुखाइ होला भनेर आत्मबल बढायो भने रोग प्रतिरोधात्मक क्षमता बढ्छ र दुखाइ कम हुँदै जान्छ ।

कुनै पनि रोग लागेको व्यक्तिलाई निको हुन औषधि ५० प्रतिशत काम गर्छ भने ५० प्रतिशत आत्मबलले नै काम गर्ने हो । उसले आफूलाई कमजोर सोच्न थाल्छ भने रोग झन् बढ्छ । तर म यो रोगलाई जसरी पनि जित्छु भनेर आत्मबल बढायो भने ऊ छिटो निको हुन्छ ।

हिन्दी फिल्म ‘मुन्ना भाइ एमबीबीएस’मा पनि देखाइएको छ, बिरामीलाई उपचारले मात्र होइन, आत्मबलले छिटो निको हुन्छ ।

आत्मबल कमजोर भए के हुन्छ ?

यदि कुनै व्यक्तिको आत्मबल कमजोर छ भने उसले कुनै पनि कुरामा निर्णय गर्न सक्दैन । मनोबल नभएको व्यक्तिलाई सजिलो काम पनि गाह्रो लाग्छ, तर उच्च मनोबल भएको व्यक्तिलाई सबै कुरा सजिलो र सरल लाग्छ ।

जो व्यक्तिसँग आत्मबल हुँदैन, उसले हरेक काममा बहाना खोजिरहेको हुन्छ । ‘मैले यो काम गर्न खोजेको थिएँ तर फलानोले त्यो काम राम्रो छैन भन्यो त्यसैले गरिनँ’ जस्ता बहाना बनाइरहेको हुन्छ ।

कमजोर आत्मबलका कारण हामीले हाम्रा खराब बानी त्याग्न सक्दैनौं । जसकारण हाम्रो बौद्धिक विकास रोकिन्छ ।

आत्मसम्मान र आत्मबल अन्तरसम्बन्धित

जसरी हामी अरूलाई सम्मान गर्छौं, त्यसरी नै आफूलाई सम्मान गर्छौं भने त्यसलाई आत्मसम्मान भनिन्छ । आत्मसम्मान भनेको आफैंलाई महत्त्व दिनु हो । आत्मप्रेम, आत्मसम्मान र आत्महेरचाह गरियो भने आत्मबल पनि बढेर जान्छ । जब आत्मसम्मान कमजोर हुँदै जान्छ, त्यसपछि आत्मबल पनि कमजोर हुँदै जान्छ । त्यसैले आत्मबल बढाउनु छ भने आत्मसम्मान कायम राख्नुपर्छ ।

कस्तो व्यक्तिमा आत्मबल कम हुन्छ ?

मुख्यतया मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिमा आत्मबल कमजोर हुन्छ । डिप्रेसन भएको व्यक्तिमा संसारमा सबै ठीक, म मात्र बेठीक भन्ने सोच विकास हुन्छ । म केही गर्न सक्दिनँ, मेरो भविष्य अन्धकार छ जस्ता उदासीन भावना त्यस्ता व्यक्तिमा हुन्छ, जसले गर्दा आत्मबल कमजोर हुन्छ ।

एन्जाइटीको समस्या भएका व्यक्तिमा डरको मात्रा बढी हुन्छ । यस्ता व्यक्तिलाई सानो सानो कुरामा पनि डर लग्ने आत्तिहाल्ने समस्या हुन्छ, जसले गर्दा पनि आत्मबल कमजोर हुन्छ । जब कुनै कडाखाले रोग लागेको कुरा थाहा हुन्छ, त्यसले पनि आत्मबल कमजोर गराउँछ ।

आत्मबल कसरी बढाउने ?

(ऐना अगाडि उभिएर आफ्नो बारेमा सकारात्मक कुरा सोच्नुपर्छ । ‘म सक्षम छु, मेरो आत्मबल उच्च छ’ भनेर सोच्नुपर्छ । यसो गर्दा इच्छाशक्ति बढ्छ र आत्म सुझावलाई यथार्थमा परिणत गर्न सकिन्छ । परिणाममा आत्मबल उच्च हुन्छ ।

(फिटनेस, स्टाइल, डाइट लगायत कुराले पनि आत्मबल उच्च पार्न भूमिका निर्वाह गर्छ । आत्मबल बढाउन शारीरिक अभ्यास र खानपानमा पनि ध्यान दिन जरुरी हुन्छ ।

(दैनिक योग ध्यान गरौं । योग ध्यान गर्दा शरीर र मन शुद्ध भएर निरोगी भइन्छ । जसले गर्दा आत्मबल स्वभाविक रूपले उच्च हुन्छ ।

(यी उपाय अपनाउँदा पनि आत्मबल बढेन भने मनोपरामर्श लिएर पनि आत्मबल बढाउन सकिन्छ ।

(मनोविद् पौडेलसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

Facebook Comments Box

Share Icon