Share Icon

 २ चैत,लुम्बिनी । रुपन्देहीको सियारी गाउँपालिकाले चालु आर्थिक वर्षमा छनोट भएका योजनाको काम प्रभावकारीरुपमा अगाडि बढाएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षका लागि छनोट गरी गाउँसभाबाट पारित भएका योजनामध्ये ९५ प्रतिशत योजनाको सम्झौता गरी कामको सुरुआत गरिसकेको जनाएको छ ।

सम्झौता भएका एक सय ७८ योजनामध्ये ६० वटा योजनाको निर्माण सम्पन्न भइसकेको योजना शाखा प्रमुख रोमलाल पुरीले जानकारी दिनुभयो । पालिकाले सडक, नाली, कल्भर्ट, भवन तथा आवास निर्माण, धर्मशाला निर्माणलगायतका पूर्वाधार निर्माणका काम अगाडि बढेको उहाँको भनाइ छ ।

गाउँपालिकाले पालिकाभित्र सुरु भएका विकास निर्माणका कामको अनुगमनलाई पनि तीव्रता दिएको छ । पालिकाले विभिन्न उपभोक्ता समूह तथा ठेक्का सम्झौतामार्फत निर्माण व्यवसायीले सुरु गरेका विकास निर्माणका कामको गुणस्तर तथा कामको प्रगतिबारे बुझ्नका लागि अनुगमनलाई तीव्रता दिइएको गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक तारा थारुले जानकारी दिनुभयो ।

उहाँले समयमै काम नगर्ने तथा गुणस्तरहीन काम गर्ने उपभोक्ता समिति तथा निर्माण व्यवसायीको कुनै पनि रकम भुक्तानी नहुने बताउनुभयो ।

उपाध्यक्ष थारुको संयोजकत्वमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, योजना शाखा प्रमुख रोमलाल पुरी, आर्थिक प्रशासन शाखा प्रमुख नारायणप्रसाद पौडेल, सम्बन्धित वडाका जनप्रतिनिधि लगायतले निर्माणाधीन योजनाको अनुगमन गर्ने गरेका छन् ।

सियारीमा गाउँपालिकास्तरका रु १० करोड ७१ लाख ६९ हजार बराबरका तथा वडास्तरमा रु सात करोड २१ लाख बराबरका योजना निर्माणको चरणमा छन् ।

सियारीले सडक निर्माण, कुलो निर्माण, बाँध निर्माण, भवन तथा आवास नर्माण, विद्यालयका भवन निर्माणलगायतका कामलाई प्राथमिकतामा राखेको जनाएको छ ।

Facebook Comments Box

Share Icon