यी हुन् कार्वन ऋणात्मक भएका संसारका ३ देश
अहिले विश्व जलवायु परिवर्तनको खतरनाक असरबाट प्रताडित छ । जलवायु परिवर्तनको दर तथा असर कम गर्नका लागि देशहरुका सामु अहिले कार्वन उत्सर्जन कम गर्ने चुनौति छ । तर केही दश यस्ता पनि छन् जो उक्त चुनौतिबाट मुक्त छन् । अर्थात् उनीहरुलाई कार्वन उत्सर्जन कम गर्न आवश्यक नै छैन । किनकी ती देश कार्वन नेगेटिभ देशको सूचिमा प्रवेश गरिसकेका छन् ।
विश्वका ३ वटा देशलाई कार्वन नेगटिभ अर्थात् कार्वन उत्सर्जन ऋणात्मक भएका देश घोषित गरिएको छ । कार्वन नेगेटिभ अर्थात् पूर्ण प्रदुषणमुक्त घोषित भएका देशमा भुटान, सुरीनाम र पनामा हुन् ।
जलवायु परिवर्तनका घातक असरहरु अहिले सबैजसो देशहरुले व्यहोरिरहेको बेला यी तीनवटा देश दुनियाका लागि उदाहरणीय बनेका छन् । आखिर कार्वन नेगेटिभ हुन कसरी सम्भव भयो त ?
के हो कार्वन उत्सर्जन र कार्वन नेगेटिभ ?
कुनै संस्था, व्यक्ति वा मुलुकहरुले गरेको कूल कार्वन उत्सर्जनको मात्रालाई कार्वन उत्सर्जन अर्थात् फुटपि्रन्ट भनिन्छ । यो उत्सर्जन कार्वन डाइअक्साइड वा ग्रीनहाउस ग्यासको रुपमा हुन्छ । यहीँ हरितगृह ग्यासमा कमी ल्याउनु नै अहिलेको विश्वको सबैभन्दा ठूलो चुनौतिको रुपमा रहेको छ ।
जब कार्वन डाइअक्साइड तथा अन्य हरिगृह ग्यासहरुको कूल उत्सर्जन शून्यभन्दा पनि कम हुन्छ त्यो अवस्थालाई कार्वन नेगेटिभ भनिन्छ । यद्यपि हरिगृह ग्यासको ऋणात्मक मात्रामा उत्सर्जन वा शून्य भन्दापनि कम उत्सर्जन भन्ने कुरा असम्भव हुन्छ । त्यसैले कार्वन नेगेटिभ भनेको वास्तवमा पर्यावरणमा उत्सर्जन गर्ने हरितगृह ग्यासको मात्राभन्दा विभिन्न माध्यमबाट कम गर्ने हरितगृह ग्यासको मात्रा बढि हुनु हो ।
भूटान
भुटानको कुरा गर्दा वास्तवमा भुटानले नेट जिरोको सपथ लिएको छैन, किनकी भुटानलाई यस्तो गर्ने आवश्यकता नै थिएन । भुटानका जंगलले एक वर्षमा करीब ९० लाख टन कार्वन डाइअक्साइड अवशोषित गर्दछन् । जबकि यो मुलुकले एक वर्षमा केवल ४० लाख टन भन्दा पनि कम कार्वन डाइअक्साइड उत्सर्जन गर्दछ ।
भुटानले यस्तो सफलता कसरी प्राप्त गर्यो ? यसका पछाडि विभिन्न कारण छन् । पहिलो कारण चाहीँ भुटान वनजंगलमा निकै धनी हुनु हो । भुटानको संविधानमै देशको देशको कूल भूगागको ६०प्रतिशत जंगल हुने कुरा उल्लेख गरिएको छ । अहिले भुटानको ७२ प्रतिशत जमिन जंगलले ढाकेको छ । भुटानले काठ तथा वनपैदावार निर्यात प्रतिबन्ध लगाएको छ । भुटानमा उर्जाको मुख्य श्रोत जलविद्युत हो । भुटान सानो तथा गैर औद्योगिक राष्ट्र भएकाले पनि यस्तो सफलता प्राप्त गरेको हो ।
सुरीनाम
यो दक्षिण अमेरिकी मुलुक वनजंगलमा सबैभन्दा धनी मुलुक हो । उक्त महादेशको सबैभन्दा सानो देश रहेको सुरीनामको ९७ प्रतिशत भाग उष्णकटिबन्धीय जंगलले ढाकेको छ ।
यद्यपि यो मुलुक आर्थिक रुपले कृषि उत्पादन, बक्साइड, सुन तथा पेट्रोकेमिकल जस्ता प्राकृतिक संसाधनहरुमा निर्भर छ । तर यस्तो उत्खननका बाबजुत सुरीनामले वनजंगलको संरक्षण गरेर कार्वन नेगेटिभ क्लबमा प्रवेश गर्न सफल भएको हो । लाखौँ हेक्टर संरक्षण क्षेत्र बनाउनका लागि त्यहाँका जनता तथा सेनाले सरकारको साथ दिएका छन् ।
पनामा
कार्वन नेगेटिभ क्लबमा प्रवेश गरेको सबैभन्दा पछिल्लो देश पनामा हो । मध्य अमेरिकी देश पनामा पहाड, नदी तथा उष्ण जंगलका भएको सुन्दर देश हो । यो देश वनविनाश रोक्नमा सक्षम सावित भैरहेको छ र देशको ५७ प्रतिशत भूभाग वनजंगलले ढाकेको छ । सन् २०२३ सम्म कोइला तथा अन्य प्रदुषक इन्धनको प्रयोगलाइ चरणबद्ध रुपमा अन्त्य गर्ने र सन् २०५० सम्ममा ५० हजार हेक्टर जमिनलाई घना जंगलमा बदल्ने पनामाको लक्ष्य छ ।
जलवायु परिवर्तनको विश्व सम्मेलन कोप २६ का बेला यी तीनवटा मुलुकले एउटा औपचारिक गठबन्धन पनि तयार गरेका छन् र विश्व समुदायसँग सौविध्यपूर्ण व्यापार र अन्तराष्ट्रिय सहायताको माग गरेका छन् । कार्वन ऋणात्मक उक्त क्लबमा निकट भविष्यमै अन्य मुलुकहरु प्नि प्रवेश गर्ने अपेक्षा गरिएको छ । एजेन्सीको सहयोगमा