भारतको सहयोगमा जाजरकोटमा दुई सय अस्थायी संरचना निर्माण
काठमाडाैं । भारत सरकारको सहयोगमा भूकम्पले क्षतिग्रस्त जाजरकोटमा दुई सय अस्थायी संरचना निर्माण भएको छ । गत महिना नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकरको भूकम्पले क्षतिग्रस्त जाजरकोटमा सहयोग गर्ने बताएका थिए ।
सोही अनुसार पहिलो पटक जाजरकोटमा दुई सय अस्थायी संरचना निर्माण भएको काठमाडौंस्थित रहेको भारतीय राजदूतावासले जनाएको छ । जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति भएका घरको पुनर्निर्माणका लागि स्रोत अभाव भइरहेका बेला भारत सरकारले १० अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गत महिना गरेको थियो ।
ऊर्जा व्यापार सम्झौता गर्न नेपाल भ्रमणमा आएका बेला भारतीय विदेशमन्त्री एस जयशंकरले भूकम्पले क्षति भएका जिल्लामा घरसहितका पूर्वाधार पुनर्निर्माण गर्न १० अर्ब रूपैयाँ अनुदान दिने घोषणा गरेका थिए ।
सरकारले भूकम्पपीडितका अस्थायी आवास बनाउन प्रतिघरधुरी ५० हजार सघाउने घोषणा गरिसकेको भए पनि पीडितले रकम नपाएको गुनासो गरेका छन्। भूकम्प गएको दुई महिना पुगे पनि सबै पीडितले अस्थायी आवासको रकम पाएका छैनन्।
जाजरकोटमा ३५ हजार घरमा क्षति पुगेको भए पनि अस्थायी आवास बनाउने रकम नपाएको गुनासो पीडितले गरेका छन्। जाजरकोटका करिब १३ हजार लाभग्राहीले पहिलो किस्ता बापतको रकम नपाएको बताएका छन्। लाभग्राहीले अहिलेसम्म २१ हजार नौ सय ४६ जनाले पहिलो किस्ताका लागि सम्बन्धित पालिकामा सम्झौता गरेका छन्।
सरकारले पहिलो चरणमा अस्थायी आवास बनाउन एक अर्ब ४१ करोड रूपैयाँ निकासा गरेर पठाएको थियो। जाजरकोट र रुकुम पश्चिमका लागि ५०–५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड पठाएको थियो।
सरकारले सांसद विकास कोषको आठ अर्ब २५ करोड रूपैयाँ रकम पनि भूकम्पपछिको पुनर्निर्माणमा खर्च गर्ने निर्णय गरेको थियो। त्यसमा एक अर्ब ७५ करोड रूपैयाँ थपेर विपद् व्यवस्थापन कोषमा १० अर्ब रूपैयाँ जम्मा गर्ने निर्णय सरकारले गरेको थियो।
भूकम्पले सबैभन्दा धेरै क्षति जाजरकोट र रुकुम पश्चिममा भएको थियो। गृह मन्त्रालयका अनुसार जाजरकोटमा नौ हजार सात सय ९४ घरमा पूर्ण क्षति, २४ हजार सात सय सात घरमा आंशिक क्षति, रुकुम पश्चिममा १६ हजार पाँच सय ७० घर पूर्ण क्षति, नौ हजार नौ सय ६१ घरमा आंशिक, रुकुम पूर्वमा एक सय ८२ घरमा आंशिक क्षति, सल्यानमा एक सय २९ पूर्णक्षति, चार सय १८ आंशिक, रोल्पामा २५ घर पूर्ण क्षति र ८७ घरमा आंशिक क्षति, प्युठानमा ३१, दाङमा सात, जुम्लामा पाँच घरमा आंशिक क्षति पुगेको थियो।भूकम्पबाट करिब ६८ अर्ब रूपैयाँ क्षति भएको प्रारम्भिक अनुमान गरेको थियो।
भूकम्पले क्षति भएका निजी घर, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन निर्माण गर्न ठूलो धनरासी खर्च हुने अनुमान छ। गृह मन्त्रालयका अनुसार भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, दाङ, प्युठान लगायतका जिल्लामा भत्किएका निजी घर, विद्यालय, सरकारी भवन पुनः निर्माण गर्न ६७ अर्ब ६२ करोड रूपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।
क्षति भएका संरचनालाई तत्काल अस्थायी संरचना तयार गर्ने र पछि दीर्घकालीन संरचना बनाउन सघाउने सरकारी योजना छ। पीडितहरू अहिले त्रिपालमा बसेका छन्। धेरै बजेट लाग्ने भएकाले सरकारले दाताको खोजी गरेको बेला भारत सरकारले सघाउने घोषणा गरेको हो ।
Completed installation of first of the 200 pre-fabricated houses at Jajarkot.
These were handed over to Government of Nepal during the recent visit of EAM @DrSJaishankar to Kathmandu.#BuildingBackBetter#NepalBharatSahyog@MofaNepal@NDRRMA_Nepal@NPSaudnc https://t.co/yP2znPqrUv pic.twitter.com/t8uSVwJAIg
— IndiaInNepal (@IndiaInNepal) January 16, 2024