कालीगण्डकी क्षेत्रबाट लोप हुँदै चिर कालिज
धु्रवसागर शर्मा
२५ भदौ, गलेश्वर (म्याग्दी) । म्याग्दीको कालीगण्डकी क्षेत्रको पश्चिमी भेगमा मात्र पाइने चिर कालिज लोप हुने स्थितिमा पुगेको छ । सीमित सङ्ख्या, निश्चित बासस्थान, न्यून प्रजनन क्षमता, बासस्थानको अभाव र अवैध चोरी सिकारीका कारण सरकारबाट संरक्षित पक्षी चिर कालिज लोप हुने स्थितिमा पुगेको हो ।
पाँच वर्षअघि त्रिभुवन विश्वविद्यालयमा एमएससी (प्राणीशास्त्र) विभागका केशव चोखालले एक वर्ष लगाएर म्याग्दीका विभिन्न ठाउँमा पुगेर गर्नुभएको अनुसन्धानबाट यहाँ करिब ६० चिर कालिज पाइएका थिए । उचित वातावरणको अभावका कारण अहिले ती चिर कालिज घटेका पाइएको उहाँले बताउनुभयो । चिर कालिजमा निरन्तर अनुसन्धान गर्दै आउनुभएका चोखालले यो पक्षी किसानको साथी भएको बताउनुभयो ।
चिर कालिजको बासस्थान धेरैजसो खेतीयोग्य जमिन नजिकै हुने हँुदा खेतीबालीमा लाग्ने कीरालाई यसले आहारा बनाउने र बाली नष्ट गर्नबाट जोगाउने गर्दछ । स्थानीयको गलत बुझाइका कारण चिर कालिजलाई मार्ने वा धपाउने गर्दा यो किसानको पनि प्रतिशोधको सिकार भएको उहाँको भनाइ छ । चिर कालिजको संरक्षणका लागि निरन्तर डिभिजन वन कार्यालयलाई अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएको उहाँले गुनासो राख्नुभयो ।
म्याग्दीको चिर कालिज संरक्षणका लागि समुदायमा सहभागितात्मक कार्यक्रम सुरु गर्नुपर्ने उहाँले बताउनुभयो । केही समयभित्र नै त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानको सहयोग र सहकार्यमा म्याग्दीमा चिर कालिजको अवस्थाबारे थप अध्ययन र स्थानीय समुदायलाई सहभागी गराएर समुदायसँग चिर कालिज संरक्षण कार्यक्रम सुरु गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
“चिर कालिज कालीगण्डकी नदीको पश्चिम क्षेत्रमा पाइन्छ, म्याग्दीमा पछिल्लो मेरो अध्ययन अनुसार डडुवा, थाइबाङ, हिदि, मुना, मुदी, खिबाङ लगायतका क्षेत्रमा रेकर्ड छ”, अध्येता चोखालले भन्नुभयो “तर कालीगण्डकी क्षेत्रमा पर्ने दानाको काभ्रे भिर, थोराँै र तातोपानीमा अत्यन्त कम रेकर्ड भएको छ ।”
उहाँका अनुसार चैत वैशाखमा चिर कालिजको प्रजनन क्रिया सुरु हुन्छ । सोही समय जङ्गलमा डढेलो लाग्नुका साथै अन्य वातावरणीय असन्तुलनका समस्या देखिने हुँदा बर्सेनि दुर्लभ मानिएका चिर कालिज घट्दै जाँदा लोपोन्मुख अवस्थामा पुगेका हुन् । नेपाल प्रकृति संरक्षण कोष, साना स्तनधारी संरक्षण तथा अनुसन्धान संस्थान लगायतका संस्थाको सहयोगमा उहाँले लामो समय लगाएर चिर कालिजको अवस्था, बासस्थान, सङ्ख्या र लोप हुनाका कारणबारे अनुसन्धान गर्नुभएको छ ।
‘क्याट्रस बालिचि’ वैज्ञानिक नाम रहेको यस पक्षीलाई अंग्रेजीमा चिरफेजेन, नेपालीमा चिर कालिज र सुदूरपश्चिमा चेडु चराका नामले चिनिन्छ । साइटिस घोषणापत्र र आइयुसियन अन्तर्राष्ट्रिय संस्थाको ‘आइ’ सूचीमा राखिएको यो पक्षी नेपाल वन्यजन्तु संरक्षण ऐनमा संरक्षित पक्षीको सूचीमा सूचीकृत छ । नेपालमा यो पक्षी समुद्री सतहबाट एक हजार चार सय मिटरदेखि तीन हजार छ सय मिटरसम्मको भू–भागमा पाइने अनुसन्धानकर्ता चोखालले बताउनुभयो । नेपालमा करिब एक हजारको सङ्ख्यामा रहेको यो पक्षी म्याग्दीमा मात्रै ५० देखि ६० सम्म भएको अनुमान गरिएको