खेलाडीको छलाङ तर पूर्वाधार छैन

Share Icon

८ साउन,महेन्द्रनगर । साफ प्रतियोगितामा कुस्तीमार्फत मुलुकलाई पदक जिताउन सफल सुरेश चुनारा र शिवानी दुबे कञ्चनपुरका उत्पादन हुन् । हाल उनीहरु चीनमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि छनोट समेत भइसकेका छन् ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा आवद्ध चुनारा र डडेल्धुराका दुवे मुलुकको प्रतिनिधित्व गर्दै एसियाली खेलअघि प्रशिक्षणका लागि भारत जाँदैछन् । दुवै खेलाडीसँग सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै तौल समूहमा स्वर्ण पदक जितेको इतिहास छ । साथै १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साफ) दुवेले रजत पदक र चुनाराले काष्य जितेका थिए ।

त्यसो त चुनारा र दुवेसँगै कुस्तीबाट साफमा स्वर्ण जित्ने पहिलो नेपाली महिला खेलाडी सङ्गीता धामी र साफमै पदक विजेता खेलाडी महिषा सिंह पनि यहाँकै उत्पादन हुन् । साथै पछिल्लो समय निकै लोकप्रिय बनेको क्रिकेटमा पनि कञ्चनपुरकै खेलाडीको योगदान ठूलो छ । राष्ट्रिय टोलीका भीम सार्की, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र प्रदीप ऐर पनि कञ्चनपुरकै उत्पादन हुन् ।

मुलुकलाई विभिन्न खेलमार्फत अन्तर्राष्ट्रिय स्तरमा मुलुकको नाम चिनाउन सफल यहाँका खेलाडीले न्यूनतम पूर्वाधारको सुविधा पनि पाउन नसकेको यहाँका सरोकारवाला गुनासो गर्छन् । यतिबेला कुस्ती खेलाडीहरु जिल्ला खेलकुद विकास समितिको कार्यालयसँगै जोडिएको साँघुरो हलमा प्रशिक्षण गर्न बाध्य छन् । सुदूरपश्चिम प्रदेश सरकारबाट खेलकुद परिषद्ले निर्माण सुरु गरेको कुस्ती हल दुई वर्षभन्दा बढी समयदेखि अलपत्रको अवस्थामा छ भने कहिले बन्ने हो टुङ्गो छैन ।

“कुस्तीका लागि हल बनाउन थालेको तेस्रो वर्ष लाग्यो”, कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले भन्नुभयो, “यसपाली पनि रु १० लाख बजेट आएको सुनेको छु ।” उहाँका अनुसार अहिले खेलाडीहरु साँघुरो र अव्यवस्थित स्थानमा प्रशिक्षण गर्न बाध्य छन् ।

कञ्चनपुरमा कुस्तीको विकास खेल आठौंँ वृहत राष्ट्रिय खेलकुद प्रतियोगितापछि भएको उहाँको भनाइ छ । आठौंँ र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कञ्चनपुरले कुस्तीमा ११ स्वर्ण, ६ रजत र ८ कास्य पदक जितिसकेको छ । “बिछ्याउने ठाउँ नभएर ‘म्याट कभर’ तेक्वान्दोको हलमा थन्क्याएका छौँ”, चन्दले भन्नुभयो, “अहिलेसम्म साघुँरो हलमा म्याटका भरमा प्रशिक्षण चलिरहेको छ ।”

कुस्तीसँगै पछिल्लो केही वर्षयता कञ्चनपुरले भारोत्तलनमा समेत उत्कृष्ट प्रदर्शन मात्रै गरेको छैन पदक पनि जितेको छ । हाल चीनमा हुने एसियाली खेलकुद प्रतियोगितामा भारोत्तलनबाट पनि कञ्चनपुरका विकास भट्ट र नेपाल प्रहरीका विशालसिंह विष्ट छनोट भइ बन्द प्रशिक्षणमा छन् । दुवै खेलाडी कञ्चनपुरकै उत्पादन हुन् ।

महिलातर्फ भने भारोत्तलनमा त्रिभुवन आर्मी क्लबका शारदा चौधरी र नेपाल प्रहरीका टीकामाया गुरुङ एसियालीका लागि छनोटमा परेका छन् । “चारजना खेलाडी लिएर पोखरामा बन्द प्रशिक्षण भइरहेको छ ।” एसियालीका खेलकुदका लागि नेपालका भारोत्तलन प्रशिक्षक कञ्चनपुरका जीवन गौतमले भन्नुभयो, “एसियाली खेलकुदका लागि बाह्य प्रशिक्षणका लागि पनि पहल हुँदैछ ।” तर खेल र खेलाडीप्रति सरोकारवालाको कुनै चासो नदेखिएको उहाँको गुनासो छ ।

“पदक ल्याउने भनिएको खेलका लागि न त पूर्वाधार राम्रो छ न त सामग्री नै उपलब्ध हुन्छ”, प्रशिक्षक गौतमले भन्नुभयो, “भनसुनका भरमा मात्रै सहयोग प्राप्त हुने अवस्था हावी बन्दै गएको छ ।” यसअघि कञ्चनपुरबाट प्रतिनिधत्व गर्दै आएका भारोत्तलन खेलाडीलाई खेल पोसाकसमेत दिन आनाकानी गरिएको उहाँले गुनासो गर्नुभयो । “जुनियर खेलाडीहरु प्रशिक्षण लागि धेरै आइरहे पनि खेलाउने हल छैन”, उहाँले भन्नुभयो, “प्रशिक्षणका लागि खेलाडीले हातमा लाउने चकको डिब्बा समेत नपाएको स्थिती छ ।”

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले कञ्चनपुरमा दश खेलको प्रशिक्षण भइरहेको बताउनुभयो । कुस्ती, भारोत्तलन, भलिबल, कबड्डीका साथै कराते,बक्सिङ, एथ्लेटिक्सलगायतका खेलाडी यहाँ प्रशिक्षण गरिरहेका छन् ।

“प्रदेश सरकारको सहयोगमा रु १४ करोड लगानीमा बहुउद्देश्यीय कवर्ड हल बन्दैछ”, भट्टले भन्नुभयो, “तर बजेट र कार्यक्रम नआउँदा जिल्ला तथा प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना हुन छाडेका छन् ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.