Share Icon

सागर परियार
१९ फागुन, राजापुर । बर्दियाको राजापुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सवारी चेकजाँचसँगै सचेतनामुलक अभियानमा पनि तीव्रता दिन थालेको छ ।

इलाका प्रहरी कार्यालयमा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्टका इञ्चार्ज प्रहरी सहायक निरीक्षक महेन्द्र सिंह भण्डारीले कारवाहीले मात्रै सवारी दुर्घटनामा कमी आउन नसक्ने भएकाले सचेतनामुलक अभियानमा पनि जोड दिइएको बताउनुभयाे ।

सवारी नियमको पूर्ण पालना गरिए पछि मात्रै दुर्घटनामा कमी आउने बताउँदै ट्राफिक इञ्चार्ज भण्डारीले प्रत्येक ब्यक्तिले सवारी नियमको ज्ञान लिई पूर्ण रूपमा नियम पालना गर्न आवश्यक रहेको वताउनु भयो ।

ट्राफिक प्रहरीले सचेतनामुलक अभियानका लागि विद्यालयमै पुगेर ट्राफिक चिन्ह, नियम र कारवाहीको बारेमा अभिमुखिकरण गर्ने गरिएको छ । पछिल्लो पटक राजापुर नगरपालिकाको सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई ट्राफिक नियमहरुबारे सिकाईएको छ ।

ट्राफिक प्रहरी सहायक हवल्दार याम बहादुर चौधरीले विद्यार्थीहरुलाई ट्राफिक नियमबारे जानकारी दिई सुरक्षितरुपमा जेब्राक्रसिङको प्रयोग कसरी गर्ने भनेर सिकाइएकाे बताउनु भयो ।

शैक्षिक संस्थाहरु सडक किनारमा भएका वा विद्यार्थीहरु लामो सडकयात्रा पार गरेर विद्यालय पुग्नुपर्ने अवस्था रहेका कारण ट्राफिक प्रहरीले विद्यार्थी केन्द्रीत कार्यक्रम चलाएको हो ।

यसैगरी राजापुरमा सवारी चालक र यात्रुहरुलाई समेत विभिन्न समयमा नियमबारे सचेत बनाउने गरिएको छ । विद्यालय आसपासका क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढी हुने गरेका कारण पनि विद्यार्थीमाझ यसखालका कार्यक्रम केन्द्रित गरिएको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब निरीक्षक सई जयप्रकाश भट्टले बताउनु भयो ।

Facebook Comments Box

Share Icon