Share Icon

झापा । चिनियाँ स्याउ तस्करी प्रकरणमा डीएसपी र इन्स्पेक्टर बाहिनी तानिएका छन्। सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म घेरावारिका डीएसपी सुमन शर्मा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट केचनाका इन्स्पेक्टर ओकिल धानुक बाहिनी तानिएका हुन्।

दक्षिणी झापाको कचनकवल गाउँपालिका-४ स्थित पूर्वी लोदावारी नाकाबाट चिनियाँ स्याउ भारत तस्करी भएको घटनामा छानबिनका क्रममा दुवै जनाको नाम मुछिएकोले विभागीय कारबाही गरिएको सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय सुनसरीका डीआइजी अञ्जनीकुमार पोखरेलले जानकारी गराए।

कारबाही स्वरूप डीएसपी शर्मा र इन्स्पेक्टर धानुकलाई बिहीबार नै हाजिर हुने गरी बाहिनी मुख्यालय सुनसरी तानिएको डीआइजी पोखरेलले बताए। उनीहरूको ठाउँ घेरावारिमा डीएसपी प्रभात गौतम र केचनामा इन्स्पेक्टर जितेन्द्रबहादुर बस्नेतलाई अस्थायी रूपमा जिम्मेवारी दिएर पठाउन लागिएको छ।

डीआइजी पोखरेलले घटनाका बारेमा बराह बाहिनी मुख्यालय सुनसरीका एसपी विक्रम हुमागाईंको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरेका छन्।

छानबिन समितिले प्रतिवेदन बुझाउन बाँकी रहेको बताउँदै डीआइजी पोखरेलले भने, ‘प्रारम्भिक छानबिनका क्रममा डीएसपी र इन्स्पेक्टर घटनामा संलग्न रहेको देखियो, प्रतिवेदन आएपछि उनीहरूमाथि थप विभागीय कारबाही हुन्छ।’

कचनकवल नाकाबाट स्याउ तस्करी भइरहेको जानकारी पाएपछि सशस्त्रले आइतबार बेलुका ७ बजेर ४५ मिनेटमा मे १ ज २८०४ नम्बरको योद्धा पिकअप गाडीमा लोड गरिएको ११५ कार्टुन चिनियाँ फुजि स्याउ बरामद गरेको थियो।

त्यसपछि राजश्वका अनुसन्धान अधिकृत विनोद पोखरेलको टोलीले पूर्वी लोदावारिस्थित जयनारायण साहको गोदाममा छापा मारेर थप ४५६ कार्टुन चिनियाँ स्याउ बरामद गरेको थियो।

Facebook Comments Box

Share Icon