युवालाई विदेशीनबाट रोक्न विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गरिरहेका छौँ : वडा अध्यक्ष ढकाल (भिडियाेसहित)
बागमती प्रदेश काठमाडाैं जिल्लामा अवस्थित काठमाडाैं महानगरपालिका वडा नं.२९ का वडा अध्यक्ष कुश ढकाल स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनु भएकाे हाे । वडा अध्यक्ष ढकाल वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका काममा खटिरहनु भएकाे छ ।
ढकाल नविन ऊर्जाका साथ वडाको जिम्मेवारी सम्हालि रहेका छन् । स्थानीय तह निर्वाचन नेपालमा संघीयताको प्रयास हाे । संघीयताको एउटा मोडालिटीमा मुलुक गइसकेको छ। यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन भइसकेकाे छ ।
गाउँ-गाउँमा सिंहदरबारको नाराले वडाकाे मुहार फेरिएको छ । अघिल्लो पटकभन्दा यस पटक वडाको अधिकांश टाेलमा विकास निर्माणका कामहरू धमाधम भइरहेका छन् । साथै विभिन्न किसिमका वडा कार्यालय सीपमूलक तालिमहरू पनि दिइरहेकाे छ ।
वडा कार्यालय जनताको नजिकको स्थानीय सरकार हो। जनताको समस्या समाधान गर्न पहिलो भुमिका स्थानीय सरकारको रूपमा रहेकाे वडा कार्यालयकाे नै हुन्छ । वडा कार्यालयमा जनताले आफ्ना कुरा सजिलै राख्न सक्छन्।
त्यसमा पनि वडा वडावासीको नजिक हुन्छ । वडाले गरेका कामकारवाहीहरु स्थानीयले प्रत्यक्ष रुपमा देखिरहेका हुन्छन् । वडामा के कस्ता कामहरु भइरहेका छन ? समस्याहरु केके छन् ? जस्ता प्रश्नहरुको साथमा वडा अध्यक्ष ढकालसँग गरिएकाे कुराकानीकाे सम्पादित अशं:
वडाको मुहार फेर्ने विकासका आधारहरु के-के हुन् ?
याे मेराे दाेस्राे कार्यकाल हाे, पहिलाे कार्यकालमा अलि संरचना बनाउन समय लाग्याे, दाेस्राे कार्यकालमा अहिले काम एकदम राम्राे भइरहेकाे छ । वडावासीले अझ विकासे संरचना देख्नकाे लागि १ वर्ष जति लाग्छ । विकासका अधारहरू बजेट आएकाे छ, बजेट टन्नै छ महानगरपालिकाकाे । बजेट विकास निर्माण तथा राेजगारी सिर्जना गर्ने उद्देश्यले सीपमूलक तालिममा बढी छुट्याइएकाे छ । अहिले वडामा समाजिक बजेट ३ कराेड छ । समाजिक बजेटमार्फत युवालाई विदेशीनबाट रोक्न विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गरिरहेका छौँ । यसकाे रिजल्ट एक/डेढ वर्षपछि आउँछ ।
निर्वाचनको बेलामा जनतासँग जे प्रतिबद्धता गर्नु भएको थियो, त्यो अनुसार काम भइरहेको छ की नाइ ?
प्रतिबद्धताअनुसार धमाधम काम भइरहेकाे छ, तर विकास निर्माणका कामलाई मात्र वडाकाे विकास मानिएन, अब राेजगारीलाई विकाससँग जाेडियाे । अहिले दिनमा हजाराैँ मान्छे विदेश गइरहेका छन्। कारण के त बेराेजगारी भएर, यही नेपाल ५०/६० हजार कमाउने वातावरण भयाे भने युवाहरू विदेश जाँदैनन् नी । प्रतिबद्धताअनुसार दक्ष जनशक्ति उत्पादन गर्न यसपालि विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गर्ने तयारीमा छाैँ ।
वडामा केन्द्र र प्रदेश सरकारबाट के कस्ता याेजना आएकाे छ ?
संघीय सरकारबाट केही आएकाे छैन, प्रदेशबाट अलि अलि बजेट आएकाे छ तर हाम्राे वडा कै बजेट बढी भएकाे हुनाले खासै त्यतातिर ध्यान दिन सकेकाे छैन ।
वडामा सञ्चालित नयाँ र पुराना याेजनाहरू के-के छन् ?
अहिले हामीहरू ढुंगेधाराहरू मर्मत गर्दैछाैँ, वडा कार्यालय भवन बन्दैछ । त्यस्तै जेष्ठ नागरिक भवन बन्दैछ, जसमा ८० जना वृद्ध वृद्धालाई सेवा दिने याेजना बनाएका छाैँ । विकास निर्माणका सञ्चालित नयाँ र पुराना याेजनाहरू १/२ वर्षमा करिब करिब सबै सकिन्छ । अब हाम्राे फाेकस बढी राेजगारीमा हुन्छ ।
वडाकाे सम्भावना र चुनाैतीहरू के के छन् ?
वडाकाे चुनाैती भनेकाे विदेश जाने युवाहरूलाई कसरी राेक्न सकिन्छ, सीपमूलक तालिम दिएर हुन्छ कि अन्य माध्यमबाट । अहिले यहाँ राेजगारीकाे अवसर सिर्जना गरेनाैँ भने एक दशकपछि नेपाल नै खाली हुन्छ, अनि कसरी देशकाे विकास हुन्छ ? यस बारे तीनै तहकाे सरकारले समयमै साेच्न जरूरी छ ।