Share Icon

८ मंसिर, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले मेडिकल व्यावसायी दुर्गा प्रसाईंको अगुवाईमा राजधानी केन्द्रित प्रदर्शन अदृश्य शक्तिको ट्रायल भएको बताएको छ । अहिलेकै रुपमा उक्त प्रदर्शन अगाडि नबढ्ने पनि उसको बुझाइ छ ।

‘यो (प्रसाईं समूहको प्रदर्शन) फासफुस भइहाल्छ । आन्दोलनकारीहरु केही गर्नलाई आएको होइन, तत्काल केही हुनलाई भएको आन्दोलन होइन’ माओवादी केन्द्रका महासचिव देव गुरुङ भन्छन्, ‘बरु यो अर्कै शक्तिले एउटा पात्रमार्फत गराएको ट्रायल हो । एउटा हाउगुजी क्रियट गर्ने प्रयास हो ।’

सरकारले सुरक्षा सर्तकर्ता राम्रैसँग अपनाएका कारण बिहीबारको प्रदर्शनमा आयोजकहरुले चाहे जस्तो द्वन्द्व फैलाउनेतिर उद्धत हुन नपाएको उनको भनाइ छ ।

बिहीबार नेकपा एमालेको युवा संघ र विद्यार्थीहरुले पनि राजधानीमा प्रदर्शन गरेका थिए ।

एकले अर्कोको विरोध गर्दै शक्ति प्रदर्शनका रुपमा प्रदर्शन गरे । यी दुवै शक्तिले मुलुकमा द्धन्द्ध निम्त्याउन खोजेको प्रष्ट भएको पनि माओवादीका महासचिव गुरुङको भनाइ छ ।

‘एकले अर्कोको विरुद्ध प्रर्दशन गर्ने अझ एकै ठाउँमा प्रदर्शनका लागि पहल गर्ने प्रयास भयो । यो स्वतः द्वन्द्व निम्त्याउने र त्यो द्धन्द्धमा खेल्ने प्रयास हो,’ महासचिव गुरुङ भन्छन्, ‘राजधानीमा भएको प्रदर्शन प्रायोजित प्रदर्शन हो । प्रायोजित रुपमा द्धन्द्ध निम्त्याएर फाइदा लिन खोज्नेहरु अनेक नाममा आपसमै भिड्न खोज्छन र समाजमा ह्याभोक क्रियट गर्छन । यो किन भइरहेको छ हेर्नुपर्छ ।’

विश्वमा आर्थिक उर्पाजनका दुइटा पाटा रहेको र एउटा पाटो विकासउन्मुख देशमा अशान्ति र द्वन्द्व मच्चाएर एकाधिकार काम गर्ने रहेको बताउँछन् । यही शक्तिले नेपाल जस्ता देशमा अस्थिरता र अशान्तिका लागि भूमिका खेलिरहेको उनको टिप्पणी छ । ‘दुईटा पाटामध्ये एउटा पक्ष जहिले पनि तेस्रो विश्वमा अस्थिरता भइरहोस्, द्वन्द्व भइरहोस भन्ने चाहन्छ र त्यस खालका व्यवहारमा मलजल गर्छ । नेपालमा अहिले देखिएको दृश्य पनि त्यसकै बिम्ब हो ।’

अशान्ति र अस्थिरतामा शक्तिशाली देशले एकाधिकार काम गर्न सकेको र त्यसको निरन्तरता चाहँदा गरिब देशहरु, विकासउन्मुख देशहरुले अपेक्षित गति लिन नसकिरहेको विश्व यथार्थ रहेको पनि माओवादी केन्द्रका महासचिव गुरुङको बुझाइ छ ।

‘आफूलाई पहिलो विश्व भन्छन् र तेस्रो विश्वमा अस्थिरता भइरहोस् भन्छन् । जसमार्फत वित्तीय एकाधिकार कायम राख्न सकियोस् । त्यसका हामी भित्रका साना साना इन्ट्रेस्टमा खेल्छन्’ उनी थप्छन्, ‘अस्थिरताका लागि जे पनि भन्छन्, व्यवस्था देखाउँछन् । राजतन्त्र हुँदा गणतन्त्र चाहियो, गणतन्त्र आएपछि राजतन्त्र चाहियो, व्यवस्था ठीक भएन भन्यो नारा लगायो ।’

नेपालमा राजतन्त्र फर्किन्छ भनेर कल्पना पनि गर्न नसकिने र यो असम्भव रहेको उनको भनाइ छ । उनी प्रश्न गर्छन, ‘कुनै वंशको दास हुन हृदयले कोही चाहन्छ होला त ?’

प्रसाईं समूहले राखेको जनताको वितृष्णाको अवस्थाको चित्रणलाई सरकारले मनन गर्नुपर्ने उनको भनाइ छ । तर, राजसंस्था फर्किने जस्तो कल्पना नर्गन उनको सुझाव छ । ‘काठमाडौंमा जुन पश्चगामी नारा प्रतिगामी नारा लाग्यो । यो स्थापित होला भन्ने कल्पना पनि गर्न सकिंदैन् र असम्भव छ,’ उनी थप्छन्, ‘यो असम्भव चिजका पछि पनि केही मान्छे लागेका छन् भने त्यो युद्धको बाटो रोज्न खोजेको हो । यसका अदृश्य शक्ति लागेका छन् ।’

Facebook Comments Box

Share Icon