प्रसाईं समूहको प्रदर्शन अदृश्य शक्तिको ट्रायल : माओवादी केन्द्र

Share Icon

८ मंसिर, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले मेडिकल व्यावसायी दुर्गा प्रसाईंको अगुवाईमा राजधानी केन्द्रित प्रदर्शन अदृश्य शक्तिको ट्रायल भएको बताएको छ । अहिलेकै रुपमा उक्त प्रदर्शन अगाडि नबढ्ने पनि उसको बुझाइ छ ।

‘यो (प्रसाईं समूहको प्रदर्शन) फासफुस भइहाल्छ । आन्दोलनकारीहरु केही गर्नलाई आएको होइन, तत्काल केही हुनलाई भएको आन्दोलन होइन’ माओवादी केन्द्रका महासचिव देव गुरुङ भन्छन्, ‘बरु यो अर्कै शक्तिले एउटा पात्रमार्फत गराएको ट्रायल हो । एउटा हाउगुजी क्रियट गर्ने प्रयास हो ।’

सरकारले सुरक्षा सर्तकर्ता राम्रैसँग अपनाएका कारण बिहीबारको प्रदर्शनमा आयोजकहरुले चाहे जस्तो द्वन्द्व फैलाउनेतिर उद्धत हुन नपाएको उनको भनाइ छ ।

बिहीबार नेकपा एमालेको युवा संघ र विद्यार्थीहरुले पनि राजधानीमा प्रदर्शन गरेका थिए ।

एकले अर्कोको विरोध गर्दै शक्ति प्रदर्शनका रुपमा प्रदर्शन गरे । यी दुवै शक्तिले मुलुकमा द्धन्द्ध निम्त्याउन खोजेको प्रष्ट भएको पनि माओवादीका महासचिव गुरुङको भनाइ छ ।

‘एकले अर्कोको विरुद्ध प्रर्दशन गर्ने अझ एकै ठाउँमा प्रदर्शनका लागि पहल गर्ने प्रयास भयो । यो स्वतः द्वन्द्व निम्त्याउने र त्यो द्धन्द्धमा खेल्ने प्रयास हो,’ महासचिव गुरुङ भन्छन्, ‘राजधानीमा भएको प्रदर्शन प्रायोजित प्रदर्शन हो । प्रायोजित रुपमा द्धन्द्ध निम्त्याएर फाइदा लिन खोज्नेहरु अनेक नाममा आपसमै भिड्न खोज्छन र समाजमा ह्याभोक क्रियट गर्छन । यो किन भइरहेको छ हेर्नुपर्छ ।’

विश्वमा आर्थिक उर्पाजनका दुइटा पाटा रहेको र एउटा पाटो विकासउन्मुख देशमा अशान्ति र द्वन्द्व मच्चाएर एकाधिकार काम गर्ने रहेको बताउँछन् । यही शक्तिले नेपाल जस्ता देशमा अस्थिरता र अशान्तिका लागि भूमिका खेलिरहेको उनको टिप्पणी छ । ‘दुईटा पाटामध्ये एउटा पक्ष जहिले पनि तेस्रो विश्वमा अस्थिरता भइरहोस्, द्वन्द्व भइरहोस भन्ने चाहन्छ र त्यस खालका व्यवहारमा मलजल गर्छ । नेपालमा अहिले देखिएको दृश्य पनि त्यसकै बिम्ब हो ।’

अशान्ति र अस्थिरतामा शक्तिशाली देशले एकाधिकार काम गर्न सकेको र त्यसको निरन्तरता चाहँदा गरिब देशहरु, विकासउन्मुख देशहरुले अपेक्षित गति लिन नसकिरहेको विश्व यथार्थ रहेको पनि माओवादी केन्द्रका महासचिव गुरुङको बुझाइ छ ।

‘आफूलाई पहिलो विश्व भन्छन् र तेस्रो विश्वमा अस्थिरता भइरहोस् भन्छन् । जसमार्फत वित्तीय एकाधिकार कायम राख्न सकियोस् । त्यसका हामी भित्रका साना साना इन्ट्रेस्टमा खेल्छन्’ उनी थप्छन्, ‘अस्थिरताका लागि जे पनि भन्छन्, व्यवस्था देखाउँछन् । राजतन्त्र हुँदा गणतन्त्र चाहियो, गणतन्त्र आएपछि राजतन्त्र चाहियो, व्यवस्था ठीक भएन भन्यो नारा लगायो ।’

नेपालमा राजतन्त्र फर्किन्छ भनेर कल्पना पनि गर्न नसकिने र यो असम्भव रहेको उनको भनाइ छ । उनी प्रश्न गर्छन, ‘कुनै वंशको दास हुन हृदयले कोही चाहन्छ होला त ?’

प्रसाईं समूहले राखेको जनताको वितृष्णाको अवस्थाको चित्रणलाई सरकारले मनन गर्नुपर्ने उनको भनाइ छ । तर, राजसंस्था फर्किने जस्तो कल्पना नर्गन उनको सुझाव छ । ‘काठमाडौंमा जुन पश्चगामी नारा प्रतिगामी नारा लाग्यो । यो स्थापित होला भन्ने कल्पना पनि गर्न सकिंदैन् र असम्भव छ,’ उनी थप्छन्, ‘यो असम्भव चिजका पछि पनि केही मान्छे लागेका छन् भने त्यो युद्धको बाटो रोज्न खोजेको हो । यसका अदृश्य शक्ति लागेका छन् ।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.