नेपाललगायत १८० देशमा सुरू भयो गुगलको च्याटबट बार्ड, च्याट जीपीटीभन्दा के फरक छ?

१ जेठ, काठमाडौं। गुगलले आफ्नो एआई च्याटबट, बार्ड नेपाल लगायत १८० देशहरूमा लञ्च गरेको छ। गत बिहीबार कम्पनीको वार्षिक डेभलपर कन्फ्रेन्समा यसबारे घोषणा गरिएको थियो। यसअघि गुगलले यसैको जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स च्याटबोटलाई अमेरिका र बेलायतमा लञ्च गरिसकेको थियो।
‘एआई मोडलहरूमा उल्लेखनीय सुधार भएसँगै एआई मोडलको प्रयोग सबैलाई उपलब्ध गराउनु सबैभन्दा रोमाञ्चक अवसरमध्ये एक हो,’ गुगलका सीइओ सुन्दर पिचाईले भने।
गुगलका उपाध्यक्ष सिसी सिआओले यी सबै देशहरूमा गुगल प्रयोगकर्ताहरूले बार्डसँग अंग्रेजीलगायत जापानी र कोरियाली भाषामा कुराकानी गर्न सक्ने बताए। साथै, बार्डमा छिट्टै थप ४० भन्दा बढी भाषाहरू उपलब्ध हुने सिआओले जानकारी दिए।
ओपनएआईको च्याटजीपीटीलाई टक्कर दिन गुगलले ल्याएको बार्डले धेरैजसो वेटलिस्टमा रहेको देशहरूबाट प्रतिबन्ध हटाएको छ। फरक धर्म तथा संस्कृति भएका बिभिन्न देशका मानिसहरूबाट सिक्दै च्याटबटलाई थप सक्रिय र सक्षम बनाउन गुगल अघि बढ्दै गरेको कम्पनीले जनाएको छ।
इच्छुक प्रयोगकर्ताहरूले अब गुगल बार्डको आधिकारिक वेबसाइटमार्फत बार्डको वेटलिस्ट ज्वाइन गर्न सक्नेछन्।
पिचाईले कम्पनी द्रुत गतिमा बार्डलाई विकास गर्न लागिरहेको बताए।
‘यसले अब प्रोग्रामिङहरूको विस्तृत दायरालाई सपोर्ट गर्छ। तर्क र गणित प्रम्प्टहरूमा यो धेरै स्मार्ट भइसकेको छ। अहिलेसम्म यो पूर्ण रूपमा पीएएलएम २ मा चलिरहेको छ,’ उनले भने।
पाएएलएम २ गुगलको नयाँ सबैभन्दा ठूलो भाषा मोडेल (एलएलएम) हो। जसले बार्डलाई चलाउँछ।
यसबाहेक गुगलले छिट्टै बार्डमा मल्टिमोडल कन्टेन्ट पनि थप्ने भएको छ। यसले गर्दा बार्डले दृश्य र टेक्स्ट दुवैमा जवाफ दिन सक्छ।