Share Icon

इन्दु धामी
सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा जन्मिएकी म । मेरो बालापन भने भारतको उत्तराखण्डस्थित पिथौरागड जिल्लामा बित्यो । सानोमा आफ्नो हजुरबुवा र हजुरआमासँग बसेकाले होला म रेडियोतिर निकै आकर्षित थिएँ । उहाँहरु धेरै नै रेडियो सुन्नुहुन्थ्यो । म त्यही हुन्थें, अनि रेडियो सुन्दै गर्दा मनमा विभिन्न प्रश्नहरु आउँथे । यति सानो डब्बाभित्र कसरी मान्छे अटाएको होला भनेर जान्न मन लाग्थ्यो । म पनि यसरी बोल्न सकुँला र भन्ने सोचहरु आउँथे ।

समय बित्दै गयो । म ६ कक्षामा पुगें । त्यसपछि आफूसँगै बसाएर छोरीको पढाइ राम्रो होला भनेर बुवाले आफू भएकै ठाउँमा अर्थात कञ्चनपुर लिएर आउनुभयो । जिल्ला सदरमुकाममै बसेर मेरो बाँकी अध्ययन सुरु भयो । सानैबाट मलाई धेरै अतिरिक्त क्रियाकलापहरु गर्न मन हुन्थ्यो । सधैंजसो नयाँ कुरा सिक्न आतुर हुन्थें । समय बित्दै जाँदा कञ्चनपुरमै मैले १२ कक्षाको परीक्षा दिएँ । र, त्यही रिजल्ट आउन पर्खनुपर्ने ३ महिनाको अन्तरालमा परिवारले ‘त्यो फिल्ड छोरी मान्छेका लागि ठीक छैन’ भनी विरोध गरिरहँदा पनि पत्रकारिताको यात्रा तय गरें ।

आफू सही भए कसले के गर्छ भनेर त्यहाँको स्थानीय ‘रेडियो कञ्चनपुर’बाट काम सिक्ने रहर मैले पूरा गरें । त्यही बोल्ने र कार्यक्रम चलाउने रहर पूरा हुन थालेको थियो । त्यो समय आजभन्दा ठीक ५ वर्षअघिको थियो ।

त्यही क्रममा विस्तारै पत्रकारिताको परिभाषा बुझें । यसबाट के उपलब्धि हुन्छ भन्ने थाहा पाएर म झनैपत्रकारितामा आकर्षित भएँ । अब यसलाई नै पेशा बनाउँछु भनेर म लागिपरें । नेपाली टाइपदेखि लिएर समाचार लेखन, स्टोरी तथा आर्टिकल लेख्न सिकें । कुनै समाचारमा आफ्नो बाइलाइन देख्दा मन हुरुक्कै हुन्थ्यो । अझ केही विशेष समाचारलाई अरु भन्दा पहिले नै लेखेर प्रकाशन गर्न पाए आनन्द लाग्थ्यो । सधैं केही तार्किक कार्य गर्छु, आमाबाबाद्वारा सजाइएका ती सपनाका तस्बिरलाई वास्तविक विपना बनाइदिन्छु । समाजमा कद उच्च राखी कसैको प्रेरक बन्नेछु । सिकून् न केही ! फलानाको छोरीबाट भन्ने थेगो ममा थियो । म त्यो स्थान स्थापित गर्न चाहन्थे ।

मैले हार मानेको छु । यहाँ केही गर्छु भनेर आँट गर्नेलाई बारम्बार लडाइन्छ । यतिसम्म कि मर्नसम्म बाध्य गराइन्छ । लक्ष्यलाई सजाउँदा जीवनमा सपना देख्नु र त्यसको यसै अवसान हुनु कतिसम्मको दुःखाइ महसुस हुन्छ, हामी कति बेला कल्पना पनि गर्न सक्दैनौं ।

तर, आज आएर म सकिरहेकी छैन । मैले हार मानेको छु । यहाँ केही गर्छु भनेर आँट गर्नेलाई बारम्बार लडाइन्छ । यतिसम्म कि मर्नसम्म बाध्य गराइन्छ । लक्ष्यलाई सजाउँदा जीवनमा सपना देख्नु र त्यसको यसै अवसान हुनु कतिसम्मको दुःखाइ महसुस हुन्छ, हामी कति बेला कल्पना पनि गर्न सक्दैनौं । खैर, केही क्षणका लागि सबै छोडेर आफ्नो यात्रा अर्कै बाटो तय गरी हिँड्न खोज्दा पनि समाजका केही कलंकहरु हिँड्नै दिँदैनन् ।

पहिलो घटना

रेडियो पत्रकारिता गर्दै जाँदा म सुदूरपश्चिम प्रदेशकै पहिलो रङ्गीन पत्रिका पश्चिम टुडे र रेडियो पश्चिम टुडमा आवद्ध भएँ । पश्चिम टुडेको टीम एकदमै राम्रो थियो । सबैजना सहयोगी थिए । तर, त्यसमा एकजना डेस्कमा काम गर्ने थिए । उनी समाचार अनलाइनमा अपडेट गर्न नमान्ने र ‘आई लभ यू’ भन अनि पोष्ट गर्छु भनेर मेसेज गर्थे ।

त्यो कुरा सहनै सकिएन । दिनभरि घामपानी, भोकप्यास केही नभनी दुर्गमका गाउँ गएर रिपोर्टिङ गर्नुछ । फेरि समाचार डेस्कबाट त्यस्तो कुरा सुन्दा रिस उठ्यो । मैले उसका मेसेजको स्क्रिनसट गरेर न्यूज टीमको ग्रुपमै पठाएँ । त्यहाँ मैले पश्चिम टुडेका मालिक दीर्घराज उपाध्याय सरको साथ पाएँ । त्यसपछि ती व्यक्तिले माफी मागे । उनलाई त्यहाँबाट निकाल्ने कि के गर्ने भनेर दीर्घराज सरले मलाई सोध्नुभयो । मैले पहिलो गल्ती माफ गरौं सर भनें । त्यसपछि त्यो सबै भुलेर कामलाई निरन्तरता दिएँ ।

दोस्रो घटना

२०७६ सालको संविधान दिवसमा जिल्लाकै बेदकोट नगरपालिकाले आयोजना गरेको कार्यक्रममा त्यहाँका नगर प्रमुखकै आग्रहमा मैले गजल वाचन गरेकी थिएँ । त्यो गजलको भिडियो मैले दाइ भनेर सम्बोधन गर्ने एक टेलिभिजनका पत्रकारले क्यामेरामा कैद गरेका थिए ।

कार्यक्रम सकेर घर फर्केपछि मैले उनीसँग भिडियो मागें । उनले साइज ठूलो भएकाले भोलिपल्ट पेनड्राइभ लिएर कार्यालयमा आउन आग्रह गरे । मैले सजिलै हस् भनें । डराउनुपर्ने कारण थिएन । पत्रकार समाजको चौथो अंग अनि दाइ भनेर सम्बोधन गरे पनि उनी बुवाकै उमेरका थिए ।

भोलिपल्ट बिहान त्यही अफिस टाइममा उक्त टेलिभिजनको कार्यालयमा भिडियो लिन गएँ । भिडियो डेस्कटपमा राखेको थियो । उनले कपी गर म काम गर्दैछु भनेर मोबाइल चलाइरहे ।

ठ्याक्क कुर्सीमा बसेर माउस समात्ने बेला उनले आएर त्यही हात समाए र किस गर्ने आँट गरे । जिल्लामा केही समयअघि निर्मला पन्तको भयानक घटना घटेकाले म निकै डराएँ । उसको गलत नियत थाहा पाएर म त्यहाँबाट भिडियो नलिएरै भागें ।

पुरुष कतिसम्म निच हुँदा रहेछन् भनेर त्यो घटनाले सिकायो । त्यसपछि म सधैं सावधान हुन खोजें । तर, त्यो घटनाबारे घरमा भन्न डराएँ । किनकि पत्रकारिता मेरो आफ्नो रोजाइ थियो । जिल्लामा हुँदा घटेका यी दुवै घटनाबारे मैले कसैलाई नभनेको भने होइन ।

जसलाई भोगेका कुरा भनेको थिएँ, उनीहरुले पनि कुनै सल्लाह दिएनन् । जसको सजाय अहिलेसम्म भोगिरहेकी छु । आजसम्म सहेर बसेकी थिएँ । तर, मेरो घरैसम्म उल्टै कुरा लाउन थालेपछि अहिले असह्य भएर यो कथा लेख्दैछु ।

त्यहाँका सिनियर पत्रकारलाई मैले शेयर गरें । उनीहरुले मेरो मुख अगाडि मात्रै त्यो मान्छे घटिया हो भनेर मेरो चित्त बुझाउन खोजे । तर, तिनै मान्छेलाई ‘इन्दुले तँलाई यस्तो भनेर बदनाम गर्दैछ’ भनेर उल्टै उनीहरुको कान भरेछन् ।

उमेरले सानै भएकाले अब कस्तो कदम चाल्ने भनेर मैले भेउ पाइनँ । जसलाई भोगेका कुरा भनेको थिएँ, उनीहरुले पनि कुनै सल्लाह दिएनन् । जसको सजाय अहिलेसम्म भोगिरहेकी छु । आजसम्म सहेर बसेकी थिएँ । तर, मेरो घरैसम्म उल्टै कुरा लाउन थालेपछि अहिले असह्य भएर यो कथा लेख्दैछु ।

ती पत्रकारले मेरो बदनाम गरिस् भने ठीक हुँदैन भनेर मलाई महेन्द्रनगरमा दुई वर्ष अगाडि अर्का पत्रकारकै अगाडि धम्की दिएको थियो ।

तिमीलाई कञ्चनपुरमा बस्न नसक्ने बनाउँछु भनेपछि म डराएँ । यो सब झमेलाबाट टाढिनुपर्छ भनेर मैले काठमाडौंको यात्रा तय गरें ।

तेस्रो घटना

कञ्चनपुरको बसाइ बिट मारेपछि म संघीय राजधानी छिरें । ठ्याक्कै ग्यालेक्सी टेलिभिजन खुल्ने तयारी भइरहँदा विभिन्न अनलाइन मिडियाले ग्यालेक्सीसँग समय मागेर आफ्नो कार्यक्रम चलाउने निर्णय गरेको थियो ।

जसमा मैले जिल्लाबाट काम गर्दै आएको नेपाली पत्रिकाले पनि ‘ग्यालेक्सी दिस मर्निङ सो’ बिहान ४ घण्टा समय लिएर चलाउने निर्णय गरेको रहेछ ।

पुरानै स्टाफ भएकाले होला ‘तपाईंको लेखाइ राम्रो छ इन्दु, हामीलाई काठमाडौं डेस्कमै कन्टेन्ट राइटर आवश्यकता छ’ भनेर अवसर दिइयो ।

त्यही आधारमा काठमाडौं आउने मेरो योजना पक्का भएको थियो । अरु कर्मचारीभन्दा बढी तलब दिएर मलाई ग्यालेक्सी दिस मर्निङ सो चलाउने टीमका प्रबन्धक राज हुमागाईंले बोलाए ।

त्यहाँ काम गर्दै जाँदा एकदिन राज हुमागाईंले कार्यालयभित्रैको स्टाफ रुममा एक्लै भएको बेला त्यहाँकै एक कर्मचारीसँग बिहे गर्ने भनेर बोलाएको हो भन्ने कुरा गरे ।

जब कि मेरो त्यस्तो कुरै भएको थिएन । ती व्यक्ति कञ्चनपुरकै थिए । उनी राज हुमागाईंसँग एउटै फ्ल्याटमा बस्दै आएका थिए । ती व्यक्तिसँग मैले त्यो विषयमा प्रश्न गर्दा केही जवाफ आएन । मैले त्यहाँ बस्न उचित मानिनँ र राजीनामा बुझाएँ । तर, न्यूज टीमको ग्रुपमा उनीहरुको वास्तविक रुप सबैले थाहा पाउन भनेर मेसेज छाडें ।

यो क्षेत्रमा पुरुषहरु त धेरै टिक्न सक्दैनन् भने हजार चुनौती सामना गर्दै पत्रकार बनेकी महिलालाई झन यो क्षेत्रमा चलायमान भइराख्न निकै कठिन छ । पत्रकार महिलालाई बाँच्न कोही कसैसँग चुनौती छ भने त्यो पुरुष सहकर्मीसँग हो ।

मेरा जीवनमा यस्ता किसिमका हिंसाका घटनाक्रम भने निरन्तर चलिरह्यो । उमेरले सानी सोचेर होला, धेरै पुरुषले बेलाबेला बुझ्न खोजिरहे । दाइ भन्दै आएका एकजना महेन्द्रनगरकै क्राइम रिपोर्टर पनि त्यही त्यही प्रवृत्तिका पुरुषमा गनिन्छन् ।

उसले पनि ‘म तिमीलाई बेबी भन्छु है’ भन्दै गलत व्यह‍ोरा देखाइरह्यो । मैले यी सबैसँग केही गर्न नसकेपछि सबैलाई फेसबुकमा ब्लक गरेको छु ।

आफ्ना आफन्त भनाउँदाहरूको डरले कहिल्यै बोल्ने हिम्मत गरिनँ । तर, म काठमाडौंमा आफ्नो काम गरिरहँदा पनि जिल्लामा तिनीहरुले आफूलाई सही र मलाई गलत सावित गराउन मेरोबारेमा दुष्प्रचार गरेको कुरा आफन्त र साथीहरुबाट सुनिन्छ । त्यसले मानसिक तनाव हुन्छ । अझै घरका मान्छेले वास्तविकता नबुझेर रिसाइकराइ गर्ने व्यवहार सही नसक्नु हुन्छ । जसकै कारण म माइग्रेनको शिकार हुन पुगेकी छु ।

यो क्षेत्रमा पुरुषहरु त धेरै टिक्न सक्दैनन् भने हजार चुनौती सामना गर्दै पत्रकार बनेकी महिलालाई झन यो क्षेत्रमा चलायमान भइराख्न निकै कठिन छ । पत्रकार महिलालाई बाँच्न कोही कसैसँग चुनौती छ भने त्यो पुरुष सहकर्मीसँग हो । अझै मैले त यो क्षेत्रमा अग्रज मानिएका आफ्नै क्षेत्रका दिदी पत्रकारबाट सहयोग पाउनुको सट्टा थेग्नै नसक्ने याताना भोगिरहेकी छु । यति भन्दै गर्दा धेरैलाई आफैंलाई तोकेर गाली गरे जस्तो लाग्न सक्छ । मैले यो फिल्ड छाडेर जिन्दगीको बाटो अन्त मोड्दै गर्दा यी कुरा सबैले थाहा पाउन जरुरी छ भन्ने लाग्यो ।

यो क्षेत्रमा संघर्ष गरेर स्थापित हुनै लाग्दा सबैभन्दा नजिकबाट कसैले असहयोग गर्छ भने ती सहकर्मी नै हुन्् । असहयोग पनि कामको दक्षतासँग जोडेर होइन, चरित्र हत्या गरेर ।

फलानोसँग त्यसको राम्रो सम्बन्ध छ । योसँग हिँड्छे । यो सँग बस्छे । फलानो त त्योसँग बोल्छे । यी यस्ता कुरामा चरित्रका हजार अनावश्यक प्रसंग जोडेर ‘रक्सी गफ’ बनाइन्छ ।

अफवाहका रूपमा फैलिएका कुराबारे कति जनालाई स्पष्टीकरण दिँदै हिँड्ने ? कि पत्रकार महिलाले कहाँ जाँदैछु, कोसँग जाँदैछु भन्ने कुरा सबै पुरुष पत्रकारलाई जानकारी गराउनुपर्ने हो ?

सामान्य स्तरका मान्छे, नपढेका अनि केही नबुझेकाहरुले त्यस्तो टिप्पणी गर्दैनन् । यस्ता अफवाह फैलाउनेहरु जो समाजमा उपल्लो दर्जाका मानिन्छन्, उनै हुन् । अझ समाजमा उनीहरूको हैसियत बुद्धिजीवी रे !

आफ्नो दक्षतालाई पो प्रमाणित गर्नुपरोस् । वाह, यसको लेखाइ भनून् । तर, हामी पत्रकार महिलाले ‘चरित्र’ नामको पगरीलाई ‘राम्रो’ सावित गराउनुपर्ने ! कस्तो नियतिबाट गुज्रिरहेका छौं हामी ।

त्यतिमात्रै होइन जुन सञ्चारकर्मी महिला मिडिया हाउसका मालिक वा सिनियर मालिकसँग नजिक भइनन् उनीहरुले निकै दुःख पाउँछन् । स्टुडियोभित्रै नचाहिने हर्कतसम्म गरेका उदाहरण हामीसँग छ ।

जुन पत्रकार महिला स्थानीय सञ्चारमाध्यममा कार्यरत छिन्, उनले यस्ता हर्कतको विरोध गरे जागिरबाटै हात धुनुपर्छ । इज्जत लिलामी गरेर मैले पत्रकारिता गर्न सकिनँ र छोडें । यतिसम्मका हर्कत गर्नेहरुको नाम मैले यही आटिर्कलमा नै मेन्सन गर्छु भनेर लेखेकी पनि थिएँ । तर, उनीहरुले मलाई देखाएको घीनलाग्दो व्यवहारको मसँग सबुत प्रमाण छैन । कानूनले प्रमाण माग्छ । म अहिले कागजी प्रमाण जुटाउन सक्ने अवस्थामा छैन । मैले अहिले कसैको साथ पाएकी छैन । तर, मैले भोगेको यातनामा कुनै कानून आकर्षित हुन्छ भने म तिनीहरूको नामै लिएर कानूनी लडाइँ लड्न तयार छु । मलाई सहयोग चाहिएको छ ।

जसले आफू अनुकूल प्रयोग गर्न खोज्यो, उसले भने जस्तै गर्‍यो भने राम्रो नत्र चरित्रहीन ?

अनि समाज यस्तो छ नि, महिलासँग जोडिएका हल्ला फैलाउने पुरुष हुन्छन् । अनि ‘होइन’ प्रमाणित गर्नुपर्ने चाहिँ स्वयं महिलाले । आफ्नो दक्षतालाई पो प्रमाणित गर्नुपरोस् । वाह, यसको लेखाइ भनून् । तर, हामी पत्रकार महिलाले ‘चरित्र’ नामको पगरीलाई ‘राम्रो’ सावित गराउनुपर्ने ! कस्तो नियतिबाट गुज्रिरहेका छौं हामी ।

मैले पत्रकारितामात्रै छोडेकी छैन, आफ्नो सपनाको, भविष्यको समेत हत्या गरेर यो क्षेत्रबाट बाहिर निस्केकी छु । म अहिले मानसिक रुपमा गलेकी छु, थाकेकी छु । मैले आफ्नै घरमा विद्रोह गरेर रोजेको पेशा छोडेकी छु । म एक पटक फेरि उठ्नेछु, संघर्षको मैदानमा फेरि उभिनेछु । म थाकेकी हुँ, हरेस अझै खाएकी छैन । तर, यात्रा भने पत्रकारिताभन्दा अन्तै कतै हुनेछ । मेरो कलिलो मानसिकतालाई दुरुपयोग गरेर आफू अनुकूल प्रयोग गर्न खोज्ने र मेरा सपनाको हत्यारा कथित पत्रकारलाई मेरो आँसुले सराप्नेछ ।

मेलै नराम्रो विगत सम्झेर भुल्न खोज्दा पनि फेरि घुमिफिरी आइरहने ती घटनाका छालहरुले मेरो मन सधैं बेचैन हुन्छ । केही नयाँ गर्न खोज्दा पनि तिनै कुराले छोपिरहन्छन् । (कञ्चनपुरकी पत्रकार इन्दु धामीको ब्लग उनको व्यक्तिगत भोगाइ हो ।)

Facebook Comments Box

Share Icon